पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट भुटान उडान हुने
  • प्रमुख खबर

मंसिर ३, पोखरा ।।
भुटान एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पारोसम्मको सिधा उडान मंगलबार(हिजो)देखि औपचारिक रूपमा सुरु गरेको छ।

युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ देखि चार वटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले हुन सकेको थिएन ।

यूटीटीका अनुसार असोज १२, १६, २० र २४ गतेका लागि तालिका तय गरिए पनि प्राविधिक तथा प्रशासनिक कारणले उडान हुन सकेको थिएन । तर त्यसैमध्येको पहिलो चार्टर उडान हिजो सम्पन्न भएको जनाए।

ओपनिङ फ्लाइटमार्फत पोखरा महानगरका मेयर धनराज आचार्य हिजो थिम्पु पुगेका थिए।

भुटान एयर र नेपालस्थित प्रतिनिधि युनभर्सल टुर्स एण्ड ट्राभल्सको निमन्त्रणामा आफू पहिलो उडानमार्फत थिम्पु पुुगेको जानकारी दिँदै महानगर प्रमुख आचार्यले भने,“पोखराबाट नौ जना पाहुना तथा क्रु- मेम्बर सहित आएको विमान पारोमा सुरक्षित अवतरण गरेको बताउँदै केही प्राविधिक कारणले पूर्व निर्धारित टिमले यात्रा गर्न नपाए पनि छिट्टै नियमित उडान सुरु हुने अपेक्षा राखेको छु।”

भुटान एयरलाइन्स र युनभर्सल टुर्स एण्ड ट्राभल्सले यसअघि गरेको प्रतिबद्धता निकट भविष्यमै नियमित उडानमा पूरा हुने उनले विश्वास समेत व्यक्त गरे ।

हाल भुटान एयरलाइन्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सातामा चारवटा उडान भर्दै आएको छ। पोखराबाट भने सन् २०२३ मा सिचुवान एयरलाइन्सले चार्टर उडान सुरु गरेको थियो।

हिमालय एयरलाइन्सले पोखरा–ल्हासा–पोखरा हुँदै काठमाडौँ जोड्ने उडान एक वर्षदेखि नियमित सञ्चालन गर्दै आएको छ । अब छिट्टै भुटानबाट समेत नियमित उडान हुने अपेक्षा गरिएको छ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ मा उद्घाटन भएको हो। ३ हजार ९ सय रोपनीमा फैलिएको विमानस्थल करिब २२ अर्ब लागतमा निर्माण भएको हो । जसमा २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ।

वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता रहेको यो विमानस्थलमा पछिल्लो समय अन्तरराष्ट्रिय उडान विस्तारसँगै क्रमशः व्यस्त बन्दै गएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्