मंसिर ४, पर्सा ।।
बाराको सिमरा क्षेत्रमा बिहीबार(आज) पनि झडप भएको छ। हिजो घटेको घटनाले फेरि त्यहाँ आज पनि तनावग्रस्त स्थिति सृजना भएकोले स्थानीय प्रशासनले पुनः कर्फ्यु लागू गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जारी गरेको सूचनाअनुसार सिमरा विमानस्थल र आसपासका क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु लागू गरिएको जनाएको छ ।
सिमरा क्षेत्रमा विगत दुई दिनयता वातावरण संवेदनशील बन्दै गएको छ। जेनजी समूहले हिजो शान्तिपूर्ण प्रदर्शनका क्रममा आफूहरूलाई कुटपिट गरिएको दाबी गर्दै प्रहरीमा जाहेरी दर्ता गराएको र जाहेरीमा नाम भएका व्यक्तिहरूलाई पक्राउ गर्न खोजेपछिका गतिविधिले अवस्था थप जटिल बनेको हो।जाहेरीपछि प्रशासन र सुरक्षामाथि दवाब बढिरहेका बेला दुई जना स्थानीय जनप्रतिनिधि पक्राउ परेका छन्।
प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ तथा वडा–६ का वडाध्यक्ष कैमुदिन अन्सारीलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी मिश्रले पुष्टि गरेका छन्।
दुवै जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित हुन्। प्रशासनले शान्ति–सुरक्षालाई प्राथमिकता दिँदै स्थिति नियन्त्रणमा नआएसम्म कर्फ्यु आवश्यक रहेको बताएको छ।









