ताइ पो त्रासदी – सात भवनमा फैलिएको आगो १९ घन्टादेखि अनियन्त्रित
  • प्रमुख खबर

मङ्सिर ११,काठमाडौँ

हङकङको ताइ पो जिल्लास्थित वाङ फुक कोर्ट आवासीय क्षेत्र बुधबार दिउँसोदेखि आगोले आतंकित बनेको छ। दिउँसो २:५१ बजे ३२ तले एक अपार्टमेन्ट भवनबाट सुरु भएको आगलागी क्षणमै फैलँदै अन्य भवनहरूमा समेत पुगेको हो।

एशोसियटेड प्रेसका अनुसार सो क्षेत्रका ८ ठूला भवनमध्ये सातवटामा आगो लागेको छ। आगो लागेको १९ घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन।

उक्त आवासीय क्षेत्रभित्र करिब २ हजारभन्दा बढी अपार्टमेन्ट रहेका छन्, जहाँ ४ हजार ८ सयभन्दा बढी मानिस बसोबास गर्छन्।

अहिलेसम्मको स्थिति
४४ जनाको मृत्यु
६२ जनाभन्दा बढी घाइते
२७९ जना सम्पर्कविहीन

बिहीबार बिहानसम्म पनि पुरै क्षेत्र बाक्लो धुवाँले ढाकिएको छ। भवनहरूबाट निस्किरहेको धुवाँका मुस्लाहरू आकाशतिर उडिरहेकै छन्। सिएनएनका अनुसार आगो अझै बलिरहेको देखिन्छ।

घटनास्थलमा ठूलो संख्यामा अग्निनियन्त्रक, सुरक्षाकर्मी, दमकल तथा एम्बुलेन्सहरू परिचालन गरिएका छन्। लगातारको प्रयासपछि पनि आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्