मङ्सिर १४, पोखरा
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि द्धिविधामा बस्न आवश्यक नरहेको उल्लेख गर्दै फागुन २१ गते नै चुनाव हुने र हुनै पर्ने दाबी गरेका छन्।
आइतबार पोखरामा आयोजित प्रदेशस्तरीय एकता सन्देश सभामा सम्बोधन गर्दै उनले आफ्नो पार्टीको एकता अभियान सकिँदासम्म देशभर चुनावी माहोल बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार सरकार र छिमेकी राष्ट्रहरू चीन, भारतलगायत सबैले पनि चुनाव हुनुपर्ने चाहना राखेका छन्। उनले सरकार वार्तामा नै बसिरहेको र त्यसको उद्देश्य पनि निर्वाचन तयारीमै केन्द्रित रहेको बताए।
प्रचण्डले सरकारप्रति आक्रोश व्यक्त गर्दै धेरै जनाधार भएका दलहरूसँग संवाद नगरेर उल्टै जनाधार कमजोर पक्षसँग मात्र भेटघाट गर्ने प्रवृत्तिले चुनावी वातावरण नै बिगार्न खोजिएको टिप्पणी गरे।
उनले भदौ २६ गते राति राष्ट्रपतिसँग बसेर वर्तमान सरकार बनाउने सहमति आफू र माधवकुमार नेपालले मिलेर गरेको स्मरण गर्दै त्यसको हेक्का सरकारले राख्नुपर्ने चेतावनी दिए।
देशभर चुनावी वातावरण निर्माण गर्न आफूहरू सक्रिय रूपमा अभियानमा जुटेको बताउँदै प्रचण्डले सरकारलाई छिटोभन्दा छिटो स्पष्ट चुनावी वातावरण बनाउन आग्रह गरे।









