मंसिर १५, काठमाडौं ।।
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा अब डिजेल तथा मट्टीतेलको प्रतिलिटर मूल्य १ सय ४३ रुपैयाँ ५० पैसा कायम भएको छ।
त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ४५ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १ सय ४६ रुपैयाँ पर्ने निगमले जनाएको छ। तर डिजेल–मट्टीतेलमा राहत दिइए पनि हवाई इन्धन भने महँगिएको छ।
निगमका अनुसार आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ४२ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको छ।
यससँगै अब आन्तरिकतर्फ हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर १ सय ३४ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार १५ अमेरिकी डलर कायम भएको छ।
यसपटक पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले स्पष्ट पारेको छ।












