बैंकिङ क्षेत्रमा तरंग: प्रभु बैंकका शीर्ष अधिकारी पक्राउ, लम्सालको उदय
  • प्रमुख खबर

Oplus_131072

मंसिर १५, काठमाडौं ।।
प्रभु बैंक लिमिटेडले निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।

बैंकको सञ्चालक समितिको गएराति बसेको आकस्मिक बैठकले लम्साललाई अन्तरिम रूपमा बैंकको कार्यकारी नेतृत्व सम्हाल्ने जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

हिजो प्रभु बैंकका सीईओ अशोक शेरचन, डेपुटी सीईओ मणिराम पोख्रेल तथा प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरू पक्राउ परेपछि बैंकको नेतृत्व रिक्त बनेको थियो। उक्त अवस्थालाई मध्यनजर गर्दै बैंकले तत्काल नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

पक्राउको कारण बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले चलाइरहेको कर्जा अपचलन सम्बन्धी अनुसन्धानसँग जोडिएको बताइएको छ।

उच्च तहका अधिकारीहरू एकैसाथ पक्राउ परेसँगै बैंकिङ क्षेत्रमा गम्भीर चासो र बहस सुरु भएको छ।

त्यस्तै बैंकले औपचारिक विज्ञप्ति जारी  पक्राउका घटनाले बैंकको दैनिक सेवा प्रवाह, वित्तीय प्रणाली र ग्राहक सेवा कुनै पनि रूपमा प्रभावित नहुने स्पष्ट पारेको छ।

बैंकले आफ्ना ग्राहकलाई ढुक्क भएर नियमित कारोबार गर्न अनुरोध गर्दै सेवा संरचना, वित्तीय स्थायित्व र ग्राहकप्रतिको प्रतिबद्धता यथावत् रहेको जनाएको छ।

“बैंकका सम्पूर्ण कामकारबाही विद्यमान कानुनी व्यवस्था, नीति तथा प्रक्रियाअनुसार नै निरन्तर अघि बढाइनेछ,” बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यही अवस्थाबीच बैंकको निरन्तरता र संस्थागत स्थायित्व कायम राख्न सञ्चालक समितिले निरज लम्साललाई कार्यवाहक सीईओ नियुक्त गरेको हो।

बैंकिङ क्षेत्रका अनुभवी मानिने लम्सालले तत्कालै कार्यभार सम्हालिसकेका छन्।

बैंक स्रोतका अनुसार वर्तमान संकटपूर्ण परिस्थितिमा बैंकलाई स्थिरता दिन, सेवाप्रवाह निर्बाध राख्न र नियामक निकायसँग समन्वय गर्दै विश्वास पुनः स्थापित गर्न लम्सालको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रभु बैंक जस्तो ठूला वाणिज्य बैंकका उच्च अधिकारीहरू कर्जा अपचलन जस्तो गम्भीर आरोपमा पक्राउ पर्नु नेपाली बैंकिङ क्षेत्रका लागि संवेदनशील विषय बनेको छ।

नियामक निकाय, लगानीकर्ता र सर्वसाधारणको आँखा अब प्रहरी अनुसन्धान र आगामी कानुनी प्रक्रियातर्फ केन्द्रित भएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्