२७ औं पोखरा सडक महोत्सव पुष १३ देखि
  • सरिता गुरुङ

मंसिर १८, पोखरा ।।
पोखरा प्रकृति आफैंले सिंगारेको एउटा सुन्दर शहर हो। यो शहर दक्षिण एशियाकै सबैभन्दा सुन्दर, शान्त र मनमोहक पर्यटकीय शहरहरूमध्ये एक हो ।

यहाँबाट देखिने हिमाल, यहाँका ताल, झरना, गुफा, हरियाली, संस्कृति र साहसिक खेलहरूको कारण पनि पोखरा अन्य शहर भन्दा पृथक छ।

यही पृथकताका कारण २०८० साल चैत्र ४ गते पोखरालाई नेपालको आधिकारिक “पर्यटकीय राजधानी” घोषणा गरिएको थियो ।

यही पर्यटकीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य हो लेकसाइड । फेवातालको किनारैकिनार फैलिएको यो क्षेत्रलाई पोखराको मुटु भनिन्छ ।

विषेशगरी जब सुर्योदयको पहिलो किरण यस क्षेत्रमा रहेको फेवातालमा पर्छ तब कुमारी हिमाल भनेर चिनिने माछापुच्छ्रे र अन्नपूर्ण हिमालको प्रतिबिम्ब देख्न सकिन्छ।

यही पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइडमा २७ औं पोखरा सडक महोत्सव आयोजना हुने भएको छ।

अंग्रेजी नयाँ वर्षको स्वागतमा रेस्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा हुने यस महोत्सवले लेकसाइड थप रंगिन हुनेछ ।

रेवान पोखराले बिहीबार(आज) पत्रकार सम्मेलनको आयोजना गर्दै यस महोत्सवबारे जानकारी दिएको हो ।

‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ आयोजना हुने यस महोत्सव पुष १३ देखि १७ गतेसम्म फेवातालको किनार लेकसाइडको करीब साढे ३ किलोमिटर क्षेत्रमा हुने संस्थाका अध्यक्ष विश्वराज पाैडेलले जानकारी दिएका छन्।

उनले यस महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा स्थापित गरिसकेको बताए।

उनका अनुसार महोत्सव अवधिभर सडक छेउमै व्यवसायीहरूले विभिन्न जातजातिका मौलिक तथा अन्तर्राष्ट्रिय स्वादका खानाका परिकार पस्कने छन्।

उनले भने,“महोत्सवको मुख्य उद्देश्य पोखराको संस्कृति, पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु हो।

फेवातालको किनारमा हिमालको छायाँसँगै महोत्सव मनाउन पाउनु पर्यटकका लागि अद्भुत अनुभव हुनेछ।”

यस्तै रेवान पोखराका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक वसन्त गौतमले कुनैसमय अंग्रेजी नयाँ वर्ष मनाउन गोवा र थाइल्याण्ड जस्ता गन्तव्य विदेशीको रोजाइमा पर्ने गर्थ्यो तर पछिल्लो समय पोखरामा हुने यस महोत्सवले त्यसलाई तोड्दै “अंग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य”का रूपमा स्थापित गर्न सफल भएको बताए।

यो महोत्सव केवल एउटा कार्यक्रम मात्र नभई पोखराको पहिचान र गौरवमय इतिहासको अभिन्न हिस्सा बनिसकेको संयोजक गौतमले बताए।

उनले पोखरा आफैमा प्राकृतिक र सांस्कृतिक रूपमा ‘खुला संग्रालय’ जस्तो शहर भएको र यस महोत्सवले यही पहिचानलाई स्थापित गर्दै पर्यटन तथा अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आफूहरुले लिएको बताए ।

लेकसाइडमा पर्ने सडक महोत्सवको मुख्य आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक नृत्य तथा झाँकी प्रदर्शन, मौलिक भेषभूषा प्रदर्शन र झाँकी प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरूको प्रदर्शनी, लाइभ कन्सर्ट, साहसिक खेलतर्फ डुङ्गा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने, मःम र ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक र सेल्फी फोटो बुथ लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु रहने छन्।

यस्तै महोत्सव अवधिभर पोखराको पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावना, अवसर र चुनौती विषयमा केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरिनेछ।

महोत्सवमा स्थानीय उत्पादनको प्रवर्द्धनमा प्राथमिकता दिने उद्देश्यले पोखरा आसपासका हस्तकला, चित्रकला, मूर्तिकला, कृषि तथा वनस्पति जन्य उत्पादनलाई विशेष रूपमा प्रदर्शनी गरिने आयोजकले जनाएको छ।

यसका साथै पोखराका विभिन्न साहसिक पर्यटन गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन र पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार पनि गरिनेछ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्