मंसिर २०, काठमाडौं ।।
प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न हुने प्रतिबद्धता दोहोर्याएकी छन्।
हिजो बालुवाटारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग, सुरक्षा निकायसहित सबै सरोकारवाला निकाय पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी गराउँदै चुनाव निर्धारित मितिभन्दा पछाडि नजाने दृढ अठोट व्यक्त गरेकी हुन्।
उनले भनिन्, “अब चुनाव हुन्छ कि हुँदैन भनेर सोच्ने समय सकियो बरु अब कसरी चुनाव सफल बनाउने भन्नेमा सबैको ध्यान केन्द्रित हुनुपर्छ।”
उनले गत भदौ २३ र २४ गतेको आन्दोलनको स्मरण गर्दै मुलुक फेरि अस्थिरतामा नजाओस् भन्दै सबै राजनीतिक दललाई एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन आग्रह पनि गरिन्।
उनले नवयुवादेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजसँग निरन्तर संवाद गर्दै आएको उल्लेख गर्दै चुनावप्रति देखिएका आशंका क्रमशः निवारण हुँदै गएको दाबी गरिन्।
बालुवाटारमा भएको बहुपक्षीय छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी थिए।

बैठकमा सबै दलले चुनावको प्रचार–प्रसार स्वतन्त्र रूपमा गर्न पाउने वातावरण निर्माण हुनुपर्ने भन्दै शान्ति–सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
दलहरूको यस चासोलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले शान्ति–सुरक्षाको विषयमा ढुक्क रहन आग्रह गरिन्।
उनले राज्यका सबै संयन्त्र निर्वाचन सफल पार्न क्रियाशील भइसकेको बताउँदै निर्धारित मितिमै चुनाव हुने कुरा पुनः स्पष्ट पारिन्।














