मङ्सिर २३, पोखरा
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत लायन्स क्लब पोखरा महालक्ष्मीद्वारा आयोजित निःशुल्क मोतियाबिन्दु अपरेसन तथा आँखा परीक्षण शिविर पोखरा–१४ मा आइतबार सम्पन्न भएको छ। शिविर दृष्टि आँखा अस्पताल, पोखरा–९ नयाँबजारको प्राविधिक सहयोग तथा वडा कार्यालय पोखरा–१४ को व्यवस्थापकीय सहयोगमा सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे र विशेष अतिथि वडा अध्यक्ष बोधबहादुर कार्की, पीएमसीसी तथा मल्टिपल डिस्ट्रिक्ट कोर्डिनेटर लायन मनबहादुर रोका, पिडिजी लायन चन्द्रकुमार केसी लगायतले दीप प्रज्वलन तथा उपकरण हस्तान्तरण गरी शिविरको उद्घाटन गरेका थिए।

शिविरमा कुल २६८ जनाको आँखा परीक्षण गरिएको थियो। जाँच परिणामअनुसार १०० जनालाई निःशुल्क चस्मा वितरण, १५० स्थानमा आइड्रप औषधि वितरण गरिएको र ४० जनामा मोतियाबिन्दुको समस्या भेटिएको अस्पतालले जनाएको छ। पहिचान गरिएका बिरामीहरूको निःशुल्क अपरेसन दृष्टि आँखा अस्पतालमा गरिनेछ।

अपरेसनका लागि अस्पताल पुगेका बिरामीहरूले चस्मामा ३०% छुट, औषधिमा १०% छुट तथा १५ दिनसम्म टिकट शुल्क नलाग्ने व्यवस्था गरिएको अस्पताल प्रमुख लायन गोकर्ण क्षेत्रीले जानकारी दिए। शिविरमा प्राविधिक टोलीका सुस्मिता अधिकारी र स्नेहा पुरीको सक्रिय सहभागिता रहेको थियो।

लायन्स क्लब पोखरा महालक्ष्मीको तर्फबाट अध्यक्ष रामप्रसाद खतिवडा, सचिव सन्तोष पराजुली, कोषाध्यक्ष प्रमिला लम्साल तथा सदस्यहरू सरु खतिवडा र निरज जसवाल सहित क्लबका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव सन्तोष पराजुलीले गरेका थिए।













