मंसिर २३, पोखरा ।।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले कास्कीका पत्रकारहरूसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बीमाको आवश्यकता, महत्व, दाबी भुक्तानी प्रक्रिया, बीमितका समस्या र बीमा क्षेत्रको हालको अवस्थाबारे जानकारी गराउने उद्देश्यले मंगलबार(आज)नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा सो कार्यक्रम आयोजना गरिएको हो।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकीका प्रमुख शम्भु प्रसाद मिश्रले गण्डकी प्रदेशसहित समग्र देशको बीमा क्षेत्रको अवस्थाबारे प्रस्तुति प्रस्तुत गर्दै आर्थिक जोखिमबाट सुरक्षित रहन बीमा सबैको लागि आवश्यकता भएको बताए।
उनले प्राकृतिक विपद्, दुर्घटना र आर्थिक क्षतिबाट बच्न जोखिम हस्तान्तरणको सबैभन्दा भरपर्दो माध्यम बीमा भएको उल्लेख गरे।
विषेशगरी बीमाको महत्व आम नागरिकसम्म पुर्याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिँदै बीमा साक्षरताको प्रचारप्रसार गर्न आग्रह गरे।
अन्तरक्रियामा प्रस्तुत तथ्यांक अनुसार हाल नेपालभर ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन्। जसमध्ये १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनी रहेका छन्।
बीमा बजारलाई बलियो, पारदर्शी र सुरक्षित बनाउने उद्देश्यले बीमा कम्पनी स्थापना गर्न आवश्यक चुक्तापुँजीमा पनि कडाइ गरिएको मिश्रले जानकारी दिए।
उनले नयाँ व्यवस्था अनुसार जीवन बीमा कम्पनीका लागि न्यूनतम ५ अर्ब रुपैयाँ, निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ, पुनर्बीमा कम्पनीका लागि १० अर्ब रुपैयाँ, लघुबीमा कम्पनीका लागि ७५ करोड रुपैयाँ चुक्तापुँजी अनिवार्य गरिएको बताए ।
यसै क्रममा उनले यदि बीमा कम्पनीले बीमितलाई समयमै दाबी भुक्तानी नदिएमा उजुरी परेको दिनदेखि १० प्रतिशत ब्याजसहित भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरिएको जानकारी दिए।
बीमितले प्राधिकरणमा उजुरी गर्न सक्ने र प्राधिकरणको आदेशविरुद्ध ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था पनि रहेको छ।
मिश्रका अनुसार बीमाको पहुँच ग्रामीण तहसम्म विस्तार गर्ने उद्देश्यले सरकारले घर बीमामा रु. ५ हजारसम्म, जीवन बीमामा रु. ४० हजारसम्म कर छुट र कृषि तथा पशुपन्छी बीमामा अनुदानको सुविधा दिँदै आएको छ।
विषेशगरी प्राकृतिक प्रकोप, रोगव्याधि र बजार जोखिमका कारण हुने ठूलो आर्थिक क्षतिबाट किसानलाई जोगाउने उद्देश्यसहित कृषि तथा पशुपालन बीमालाई नेपाल सरकारले थप प्राथमिकतामा राखेको उनले बताए ।
उनका अनुसार बीमा प्राधिकरणले न्यून आय भएका किसान तथा ग्रामीण समुदायसमक्ष बीमाको पहुँच विस्तार गर्न लघुबीमा र कृषि बीमालाई विशेष प्राथमिकतामा राखेको जनाएको हो ।
यसले गर्दा किसानले कम बीमाशुल्कमै ठूलो जोखिम बीमामार्फत हस्तान्तरण गर्न पाउने सुविधा पाएका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार हाल नेपालमा खेती गरिने बाली, पशुपन्छी तथा जडीबुटीसम्म बीमाको दायरा विस्तार भइसकेको छ ।
यस्तै हाल नेपालको बीमा बजारमा ४ लाख ४ हजार ५ सय ६४ जना अभिकर्ता सक्रिय रूपमा कार्यरत छन् भने १ हजार ३ सय ११ जना सर्भेयर (क्षति मूल्यांकनकर्ता) रहेका छन्।
यसको साथै १६ पुनर्बीमा दलाल पनि सञ्चालनमा छन्। उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममार्फत नेपाल बीमा प्राधिकरणले पत्रकारहरूसँग सहकार्य गर्दै बीमा साक्षरता विस्तार, कृषि बीमाको प्रचार, निष्पक्ष समाचार प्रवाह र बीमित हित संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न विशेष आग्रह गरेको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले बीमाबारे अझै पनि आम जनतास्तरमा पर्याप्त जानकारी नपुगिरहेको उल्लेख गर्दै बीमालाई झन्झटरहित, सेवामुखी र छिटोछरितो बनाउनुपर्नेमा जोड दिए।
यस्तै सो अन्तरक्रियाका क्रममा सहभागी पत्रकार तथा बीमित कम्पनीका प्रतिनिधिहरूले बीमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो र ढिलो हुने गरेको गुनासो उठाएका थिए।
उनीहरूले सेवाग्राहीमैत्री प्रणाली विकास गर्दै छिटो क्षति मूल्यांकन र भुक्तानी सुनिश्चित गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेल, नेपाल सर्भेयर एसोसिएसन कास्कीका संयोजक बुद्धीराज अधिकारी, रामजी प्रसाद बराल र बिनोद सापकोटा लगायतले आ–आफ्नो धारणा राखेका थिए।












