मौरीपालन व्यवसाय सशक्त बनाउन पोखरामा “मौरी तथा मह मेला–२०८२” हुने
  • संजय थापा

मंसिर २४, पोखरा ।।
स्थानीय महको प्रयोगलाई प्रवर्द्धन गर्दै मौरीपालन व्यवसायलाई थप सशक्त बनाउने लक्ष्यका साथ पोखरामा “मौरी तथा मह मेला–२०८२ हुने भएको छ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरा–१६ वडा कार्यालय तथा वडास्तरीय कृषि सञ्जाल–१६ को संयुक्त आयोजनामा उक्त मेला गर्न लागिएको हो।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरा–१६  तथा वडास्तरीय कृषि सञ्जाल–१६ को संयुक्त आयोजनामा उक्त मेला हुने भएको हो ।

मेला मंसिर २६ गते पोखरा -१६ स्थित महेन्द्रगुफा परिसरमा बिहान साँढे १० बजेबाट सुरु हुनेछ।

यस मेलामा मौलिकता, उत्पादन क्षमता, व्यवस्थापन पद्धति र व्यवसायिक निरन्तरताको आधारमा उत्कृष्ट मौरीपालक छनोट गरी सम्मान गरिने आयोजकले जनाएको छ।

यस्तै मेलालाई अझ रोचक र ज्ञानवर्द्धक बनाउन विभिन्न सिर्जनात्मक तथा प्रतियोगितात्मक कार्यक्रमहरू समावेश गरिएको छ।

जसअन्तर्गत मह काढ्ने प्रतियोगिता, वक्तृत्व प्रतियोगिता (कृषकस्तर), मौरीपालनसम्बन्धी खुल्ला हाजिर–जवाफ कार्यक्रम, सरोकारवालाबीच कृषि सवाल–जवाफ कार्यक्रम, स्थानीय महको प्रत्यक्ष बिक्री, प्राविधिक सामाग्री तथा प्रविधिको प्रदर्शनी गरिनेछ।

विषेशगरी मेला मार्फत कृषकहरूबीच व्यवसायिक अनुभव आदान–प्रदान, प्रविधि हस्तान्तरण तथा बजार पहुँच विस्तारमा उल्लेखनीय योगदान पुग्ने विश्वास आयोजकले गरेका छन्। यसले मौरीपालनलाई व्यवसायिक रूपमा विस्तार गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यससँगै मेलाले स्थानीय उत्पादनको बजारीकरण, कृषकको आत्मनिर्भरता र पोखराको कृषि पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

आयोजकले पोखरा तथा आसपासका सम्पूर्ण मौरीपालक कृषक, कृषि उद्यमी, विद्यार्थी तथा उपभोक्तालाई मेलामा उपस्थित भई मौरीपालनप्रति रुचि बढाउन र स्थानीय महको प्रयोगलाई प्रोत्साहन गर्नपनि आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्