गण्डकीको प्रवद्र्धन टोली ढोरपाटनमा, आन्तरिक पर्यटन सक्रिय बनाउन तीनदिने अभियान
  • प्रमुख खबर

मंसिर २६, पोखरा ।।
गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यलाई भित्रैबाट चिनाउने उद्देश्यसहित नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले सुरु गरेको तीनदिने प्रवद्र्धनात्मक यात्रा बिहीबार(आज)ढोरपाटनमा पुगेको छ।

पोखराबाट बुधबार प्रस्थान गरेको ४५ सदस्यीय टोलीले आज ढोरपाटन र आसपासका आकर्षक क्षेत्रको स्थलगत अवलोकन गरी स्थानीय पर्यटन व्यवसायीसँग विस्तृत अन्तरक्रिया गरेको हो।

संघका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दाहालको नेतृत्वमा रहेको टोलीमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत युवराज गुरुङ, संघका सल्लाहकार एवं पूर्वअध्यक्ष बोबरजंग गुरुङ, निवर्तमान अध्यक्ष बाबुराम पाण्डे, पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेललगायत पर्यटन व्यवसायी तथा सञ्चारकर्मी सहभागी रहेका छन्।

अध्यक्ष दाहालले गण्डकी प्रदेशभित्रका उदाउँदै गरेका तथा प्रभावकारी प्रवद्र्धन आवश्यक परेका गन्तव्यलाई नजिकबाट बुझ्न, स्थानीय व्यवसायीसँग सहकार्य बढाउन र आन्तरिक पर्यटनलाई चलायमान बनाउन यो अभियान महत्वपूर्ण हने बताए ।

बाग्लुङमा आयोजित कार्यक्रमअन्तर्गत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र एनटिभिए गण्डकी प्रदेशको संयुक्त आयोजनामा कास्की, बाग्लुङ, पर्वत तथा म्याग्दीका यातायात व्यवसायीलाई ‘पर्यटक आतिथ्यता, पर्यटनमैत्री व्यवहार र यातायात सम्बन्धी ऐन–नियम’ विषयक अभिमुखीकरण प्रशिक्षण प्रदान गरिएको प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रविप्रसाद आचार्यले जानकारी दिए।

ढोरपाटन आइपुगेपछि टोलीले धार्मिक तथा पर्यटन महत्व बोकेको उत्तरगंगा ढोरबराह क्षेत्र, आसपासका गन्तव्य र स्थानीय पूर्वाधारको अवलोकन गरेको छ।

पर्यटन व्यवसायीसँग गरिएको छलफलमा ढोरपाटनको सम्भावना, आवश्यक बजार प्रवद्र्धन, साझेदारी र समन्वयका विषयमा गम्भीर बहस गरिएको आचार्यले बताए।

पर्यटन क्षेत्रलाई दिगो रूपमा विकास गर्न गन्तव्यको सशक्त ब्रान्डिङ र बहुसरोकारवाला निकायबीच सहकार्य अपरिहार्य भएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गुरुङले ध्यानाकर्षण गराए।

उनले स्थानीय पर्यटन व्यवसायीको सीप तथा क्षमता अभिवृद्धिलाई पनि प्रवद्र्धनको महत्वपूर्ण आधारका रूपमा टिप्पणी गरे।

ढोरपाटनलाई गण्डकी प्रदेशको उदीयमान पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित सुरु गरिएको यो यात्रा प्रदेशका अन्य गन्तव्यको प्रवद्र्धन अभियानका लागि प्रेरक बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्