मंसिर २६, पोखरा ।।
२१ औं लेखनाथ महोत्सवको तयारी तिव्र गतिमा अघि बढिरहेको छ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा २०६१ सालदेखि निरन्तर रुपमा हुँदै आएको यस महोत्सवको तयारी तिव्र गतिमा अघि बढेको हो ।
विषेशगरी यो महोत्सवले स्थानीय उत्पादनदेखि उद्यमशीलता प्रवर्द्धन, बजार विस्तार र प्रविधि हस्तान्तरणसम्म बहुआयामिक भूमिका खेल्दै आएको छ।
संघका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उप–समितिका संयोजक हरि बस्ताकोटीका अनुसार वर्तमान चुनौतीपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गर्दै यो वर्षको महोत्सवलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
उनले भने, “अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसायीहरूको मनोबल उकास्नु नै हाम्रो मुख्य उद्देश्य हो ।”
उनका अनुसार महोत्सवले उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोडेर आर्थिक गतिविधि सशक्त बनाउने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र स्थानीय पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको छ।
यस वर्षको महोत्सवमा पनि विविध विषयवस्तुमा आधारित स्टल र प्रदर्शनीहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।
त्यस्तै संघकी अध्यक्ष तथा महोत्सव संयोजक जानुका पराजुलीका अनुसार महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, फुड एण्ड वेभरेज, डेरी, सूचना एवं प्रविधि, रेष्टुरेन्ट तथा बैंक–वित्तीय संस्थासहितका विस्तृत स्टल रहनेछन्।
महोत्सवमा औद्योगिक व्यापार मेला, दैनिक उपभोग्य वस्तु, खाद्यान्न, विद्युतीय उपकरणदेखि हस्तकलासम्मका उत्पादनहरूको प्रदर्शनी तथा बिक्री हुनेछ। यसका साथै सूचना प्रविधि, सञ्चार उपकरण, स्थानीय पर्यटन र लेखनाथ क्षेत्रका विशेष गतिविधिहरू पनि प्रदर्शनीमा समेटिनेछन्।
महोत्सव अन्तर्गत मनोरञ्जनका कार्यक्रममा दिउँसो लोक दोहोरी, साँझमा पप कन्सर्ट तथा सुगम संगीत, चर्चित व्याण्ड र कलाकारहरूको प्रस्तुति पनि रहनेछ।
यसैबीच सांस्कृतिक रचना र प्रतिभालाई उजागर गर्ने रत्यौली प्रतियोगिता यो वर्षको विशेष आकर्षण मानिएको छ।
महोत्सव पौष ३ देखि १४ गतेसम्म सञ्चालन हुनेछ। गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि. मुख्य प्रायोजकका रूपमा रहनेछ भने सह–प्रायोजकमा बिएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट र हेटौडा डेरी छन्।
यस्तै पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धकका रूपमा रहने महोत्सवबारे प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुन लागेको यो महोत्सवले स्थानीय आर्थिक संरचना मात्रै होइन, पुरै प्रदेशको व्यापार, पर्यटन र उद्योग क्षेत्रलाई समेत सशक्त उकास्ने अपेक्षा गरिएको छ।












