मंसिर २६, पोखरा ।।
फोनिज गण्डकी प्रदेशले यस वर्षको ‘निट पत्रकारिता पुरस्कार’ पत्रकार भरत कोइरालालाई प्रदान गरेको छ।
निट डेण्टल केयर प्रा.लि.को तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार(आज) आयोजित विशेष समारोहमा पत्रकार कोइरालालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबाट उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान-पत्र प्रदान गरिएको छ।
पुरस्कृत कोइराला स्याङ्जा पुतलीबजारका स्थायी बासिन्दा कोइराला हाल समाधान मिडिया ग्रुपअन्तर्गत समाधान न्यूज डटकमका सम्पादकका रूपमा कार्यरत छन्।
यसअघि उनी आदर्श समाज राष्ट्रिय दैनिकका सम्पादक रहिसकेका उनी २०५९ सालमा अन्नपूर्ण पोस्टबाट पत्रकारिता शुरु गरी २०६५ देखि पोखरामा सक्रिय छन्।
पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका कोइराला लेकसिटी कलेज र भद्रकाली मा.वि.मा पत्रकारिता अध्यापन पनि गर्छन्।
पोखरा आर्थिक पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार र रोयल पत्रकारिता पुरस्कारबाट समेत सम्मानित भइसकेका उनी पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक पनि थिए ।
फोनिजका संघीय सचिव एमबी आस्था मगरको संयोजकत्वमा गठित समितिले पुरस्कृत व्यक्तित्व छनोट गरेको हो।
समितिमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापा मगर र महासचिव सुरज थापा मगर सदस्य रहेका थिए।
पत्रकारिताको क्षेत्रको विकासका लागि उक्त डेण्टलले गत साता ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो ।
विषेशगरी यस पुरस्कारलाई पत्रकारिताको क्षेत्रमा क्रियाशील रहेर समाजका विविध आयाम उजागर गर्ने, सकारात्मक परिवर्तनका विषय उठान गर्ने र तथ्यमा आधारित सूचनालाई जनस्तरसम्म प्रभावकारी ढंगले पुर्याउने पत्रकारहरूको योगदानलाई सम्मानित गर्ने उद्देश्यले स्थापित यस पुरस्कारलाई प्रत्येक वर्ष प्रदान गरिने फोनिज गण्डकी उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन)ले जानकारी दिए।
समारोहमा मेयर आचार्यले ‘जताततै अव्यवस्था देखिने समाजमा जनतालाई सही सूचना दिन पत्रकारिताको भूमिकालाई कसैले पनि बिर्सन नसक्ने भन्दै पुरस्कृत भएका कोइरालालाई शुभकामना व्यक्त गरे।
यस्तै यसै कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले फोनिजको पुरस्कार पहिलोपटक गैरफोनिज पत्रकारलाई प्रदान हुनु पत्रकारिता समुदायका लागि सकारात्मक सन्देश भएको टिप्पणी गरे।
उनले वेलनेस टुरिजमको बढ्दो सम्भावनाबीच निट डेण्टलले दन्त उपचारमा गण्डकीमै अग्रणी बन्न सक्ने विश्वास व्यक्त गरे।
त्यस्तै पुरस्कार दाता निट डेण्टलका प्रबन्ध निर्देशक तथा आइवा एजुकेशन कन्सल्टेन्सीका सञ्चालक वीरबहादुर राना (वीरेन)ले पत्रकारिता क्षेत्रको हितमा केही योगदान दिने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए।
उनले भने, “धनाढ्य भएर होइन, केही नयाँ काम गरौँ भन्ने सोचले पुरस्कार स्थापना गरिएको हो ।”
फोनिज गण्डकी अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा निट डेण्टलले आफ्ना चिकित्सक तथा कर्मचारीलाई प्रशंसापत्रसहित सम्मान गरेको थियो।
महेन्द्रपुल मेडिकल लाइनमा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको निट डेण्टल केयर प्रा.लि.को माथिल्लो तलामा आइवा एजुकेशन कन्सल्टेन्सी समेत रहेको छ।












