३५ दिनभित्र कवाडी, वर्कसप र कारवास हटाउन पोखरा महानगरको अल्टिमेटम
  • प्रमुख खबर

पौष ७, पोखरा ।।
पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका प्रमुख सडक आसपास सञ्चालनमा रहेका अव्यवस्थित व्यवसाय, कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योगलाई अन्यत्र व्यवस्थापन गर्न कडा निर्देशन दिएको छ।

महानगरले सोमबार(आज) सार्वजनिक सूचना जारी गर्दै सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र यस्ता व्यवसाय तत्काल हटाउन अनुरोध गरेको हो।

उक्त सूचनामा पृथ्वी राजमार्ग अन्तर्गत कोत्रेदेखि सेतिपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म, पोखरा–बाग्लुङ राजमार्गको जिरोकिमीदेखि फेदिसम्म तथा नगर क्षेत्रका अन्य प्रमुख सडकहरूको दायाँ–बायाँ सटर र खाली जमिनमा सञ्चालन भइरहेका त्यस्ता व्यवसायका कारण सवारी आवागमनमा गम्भीर कठिनाइ उत्पन्न भएको र शहरी सौन्दर्यमा खलल पुग्नुका साथै वातावरणीय स्वच्छतामा समेत प्रतिकूल असर परेको महानगरपालिकाले जनाएको छ।

यस्तै महानगरले तोकिएका क्षेत्रभित्र सञ्चालनमा रहेका हार्डवेयर पसल, डिपो तथा अन्य व्यवसायीहरूलाई समेत सडकपेटीमा निर्माण सामग्री, साइनबोर्ड तथा विभिन्न वस्तु नराख्न स्पष्ट निर्देशन समेत दिएको छ।

सार्वजनिक स्थल अतिक्रमण गरी व्यवसाय सञ्चालन गर्ने वा सामग्री थुपारिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।

आज जारी गरिएको उक्त सूचनामा यस निर्णयको प्रभावकारी कार्यान्वयनका लागि घरधनी, व्यवसायी, नागरिक समाज तथा स्थानीय प्रशासनसँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिन आग्रह पनि गरिएको छ।

महानगरले सबै सरोकारवालाको सहकार्यबाट मात्र व्यवस्थित, सुरक्षित र सुन्दर पोखरा निर्माण सम्भव हुने विश्वास व्यक्त गरेको छ।

विषेशगरी पछिल्लो समय पोखरा महानगरपालिकाले शहरी व्यवस्थापन, सडक सुरक्षामा सुधार, वातावरणीय स्वच्छता र शहरको सौन्दर्य अभिवृद्धिलाई प्राथमिकतामा राख्दै आएको छ।

यसै अभियान अन्तर्गत सार्वजनिक स्थानको दुरुपयोग रोक्न र अव्यवस्थित व्यवसायलाई निश्चित मापदण्डभित्र ल्याउन यो कदम चालिएको महानगर स्रोतको भनाइ छ।

महानगरले तोकिएको समयसीमा भित्र सम्बन्धित व्यवसायीहरूले स्वयं जिम्मेवारीका साथ व्यवस्थापन गर्न आग्रह गरेको छ।

यदि यस सूचनालाई बेवास्ता गर्दै अटेर गरे आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचना मार्फत स्पष्ट समेत पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्