११ करोडको कारोबार, साढे तीन लाख दर्शक : लेखनाथ महोत्सवले बनायो इतिहास
  • प्रमुख खबर

पौष १४, पोखरा ।।
“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने मूल नारासहित सञ्चालन भएको २१ औँ लेखनाथ महोत्सव ऐतिहासिक उपलब्धिसहित सोमबार(आज) सम्पन्न भएको छ।

आयोजकका अनुसार महोत्सवले ११ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै अपेक्षाभन्दा धेरै सफलता हासिल गरेको छ।

१२ दिनसम्म सञ्चालन भएको यस महोत्सव अवलोकन गर्न ३ लाख ३५ हजार दर्शक आएको समेत आयोजकले जनाएको छ।

प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार यो आँकडा लेखनाथ महोत्सवकै अहिलेसम्मकै उल्लेखनीय उपलब्धि मध्ये एक हो।

महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले व्यापारिक मेला तथा महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन्।

“मेला भनेको क्रेता र बिक्रेतालाई एउटै थलोमा जोड्ने प्रभावकारी माध्यम हो, जसले उत्पादन, सेवा र रोजगारीलाई प्रत्यक्ष टेवा पुर्‍याउँछ, उनले भने ।”

जेन्जी आन्दोलनका कारण व्यवसायीको मनोबलमा असर परेको उल्लेख गर्दै मेयर आचार्यले अर्थतन्त्र सुधारका उपायमा सामूहिक चिन्तन आवश्यक रहेकोमा जोड दिए।

यस्तै लेखनाथ क्षेत्रको विकासका सन्दर्भमा उनले बेगनासतालमा वाटर स्पोर्ट्स सञ्चालन गर्ने योजना तीन वर्षदेखि अघि बढ्न नसकेको स्वीकार गरे।

“अब ढिलाइ गर्नु हुँदैन,” उनले भने, “यसका लागि स्थानीयको साथ र सहयोग अपरिहार्य छ।” उनले पोखरा-मुग्लिन सडक निर्माण अन्तिम चरणमा पुगेकाले पोखरा–लेखनाथ दूरी घट्ने र यसले लेखनाथको विकासमा नयाँ सम्भावना खोल्ने बताए ।

लेखनाथमा विकासका ठूला योजना केन्द्रित गरिएको उल्लेख गर्दै उनले विभेदको अनुभूति गर्नुपर्ने अवस्था नआउने स्पष्ट पारे।

सो समापन कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मेला तथा महोत्सव आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै रुपा र पोखराको एकीकृत विकास योजना आवश्यक रहेको धारणा राखे।

त्यस्तै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रका संघ–संस्था र उद्योगी व्यवसायी मिलेर दीर्घकालीन विकास योजना बनाउनुपर्नेमा जोड दिए।

महोत्सव आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष तथा महोत्सवकी मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणसम्म आइपुग्दा लेखनाथ महोत्सवले ‘महोत्सवको पनि महोत्सव’ भन्ने पहिचान बनाइसकेको बताइन्।

“उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्दै व्यापार र पर्यटनलाई अघि बढाउन सफल भएका छौँ,” उनले भनिन्।

प्राकृतिक सम्पदाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उनले लेखनाथभित्रका संघ–संस्था, व्यवसायी, विभिन्न जातजाति, आमा तथा महिला समूहहरूको एकताकै कारण महोत्सव सफल भएको बताइन्।

यस पटक ९ करोड कारोबार र २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखे पनि नतिजा अपेक्षाभन्दा धेरै आएको आयोजकले बताएको छ।

यसैबीच समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने व्यवसायी, दर्शक र कलाकारहरूलाई सम्मान गरिएको थियो।

विषेशगरी महोत्सवबाट हुने बचत रकम प्रस्तावित औद्योगिक क्षेत्र निर्माण तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्