निष्पक्ष निर्वाचनका लागि कास्कीमा पत्रकारलाई विशेष रिपोर्टिङ तालिम सुरु
  • प्रमुख खबर

माघ २८, पोखरा ।।
चुनाव नजिकिँदै जाँदा समाचारको विश्वसनीयता र पत्रकारको जिम्मेवारी झन् बढेको छ। यही संवेदनशीलतालाई मध्यनजर गर्दै कास्कीका पत्रकारहरूलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने विशेष तालिम पोखरामा सुरु भएको छ।

नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा सुरु भएको उक्त तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्ध ७५ जना पत्रकार सहभागी छन्।

तालिमले पत्रकारलाई चुनावी महोलमाकाबीच हतारोभन्दा पनि विश्वसनीयतालाई प्राथमिकता दिँदै, छिटोभन्दा सही र तथ्यपरक समाचार कसरी प्रस्तुत गर्ने भन्ने व्यावसायिक सीप र जिम्मेवारीबोध विकास गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमको उद्घाटन गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निष्पक्ष पत्रकारिताबिना स्वच्छ निर्वाचन सम्भव नहुने स्पष्ट पारे। उनले भने,”निर्वाचनलाई स्वतन्त्र र विश्वसनीय बनाउन पत्रकारको भूमिका निर्णायक हुन्छ।

सत्य र सन्तुलित रिपोर्टिङले नै लोकतन्त्र बलियो बनाउँछ ।” त्यस्तै गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आचारसंहिता र प्रक्रियाबारे प्रशिक्षण दिँदै पत्रकारले कुनैपनि राजनीतिक पक्षधरता देखाउन नहुने बताए।

उनले भने,”पत्रकारको कलम स्वतन्त्र हुनुपर्छ, तथ्यमा आधारित हुनुपर्छ।” यस्तै पत्रकारिता अभ्यासका दृष्टान्त प्रस्तुत गर्दै समाधान दैनिकका प्रधान सम्पादक भरत कोइरालाले चुनावी रिपोर्टिङमा हल्ला र प्रचारभन्दा तथ्य र प्रमाणलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले भने,”विश्वास गुमायो भने सञ्चारमाध्यमको अस्तित्व नै संकटमा पर्छ,” उनको भनाइ थियो। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन पत्रकारिता स्वयं ‘वाचडग’को भूमिकामा उभिनुपर्ने बताए।

यस्तै पत्रकारिता सधैं देश र जनताको पक्षमा उभिनुपर्ने पनि उनले बताए। महासंघका उपाध्यक्ष माधव रेग्मीको स्वागत मन्तव्य र सचिव भुपाल गुरुङको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रमा सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले तालिमको उद्देश्य र सहभागिताबारे जानकारी दिएका थिए।

बिहीबारसम्म चल्ने तालिममा निर्वाचन कानुनी प्रक्रिया, पत्रकार आचारसंहिता, सुरक्षा संवेदनशीलता र जिम्मेवार रिपोर्टिङ जस्ता विषयमा विशेषज्ञहरूले प्रशिक्षण दिनेछन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्