वैशाख ३, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही प्रभावका कारण अहिले देशका पहाडी र हिमाली भागमा साधारणतया मौसम बदली भएको छ ।
यस्तै बिहीबार(आज) तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ । यस्तै महाशाखाका अनुसार आज दिउँसो पनि कोशी प्रदेशका पहाडी भागलगायत देशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। बाँकी पहाडी भू-भागमा आंशिक बदली रहेपनि तराईका भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
त्यस्तै कोशी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थान तथा गण्डकी प्रदेशका पहाडी भाग लगायत बाँकी हिमाली एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बदली रहने र लुम्बिनी साथै सुदूरपश्चिम प्रदेशसहित बाँकी हिमाली तथा पहाडी भागमा आंशिक बदली रहे पनि तराईमा मौसम सफा नै रहनेछ।












