वैशाख ६, पोखरा ।।
नेपाल पत्रकार महासंघ कास्की शाखाको १८औँ साधारण सभाको तयारी तीव्र रूपमा अघि बढेको छ । शाखाको आइतबार बसेको बैठकले संस्थाको साधारण सभाको लागि जेठ ९ गतेको मिति तोकेको छ ।
महासंघको केन्द्रीय समितिको परिपत्रअनुसार कास्की शाखाले आफ्नो १८औँ साधारण सभा गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार शाखाले तयारीको थालनी गरेको अध्यक्ष माधव बरालले जानकारी दिए।
गत चैत २८ र २९ गते मकवानपुरको हेटौंडामा सम्पन्न महासंघको चौथो केन्द्रीय पूर्ण बैठकले सबै शाखाहरूलाई वैशाख १० देखि जेठ १० भित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार कास्की शाखाले जेठ ९ गते साधारण सभा गर्ने मिति तय गरेको हो। महासंघको विधानअनुसार प्रत्येक दुई वर्षमा साधारण सभा गर्नुपर्ने व्यवस्था रहेको छ।
आगामी साधारण सभालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी भइरहेको महासंघले जनाएको छ।












