वैशाख १७,काठमाडौं।।
सरकारले हालै ल्याएका अध्यादेशका विषयमा रणनीति तय गर्न विपक्षी दलहरूको बैठक आज बस्दैछ। बैठक बिहान साढे ११ बजे नेकपा एमालेको संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।
यसअघि बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठक भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार विपक्षी दलहरूको सहभागिता रहेको थियो।
आज पुनः एमालेको कार्यालयमा बैठक बस्न लागेको जानकारी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दिएका छन्। बैठकमा सरकारद्वारा सिफारिस गरिएका अध्यादेशका विषयमा गम्भीर छलफल हुने नेताहरूले बताएका छन्।
सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू एकजुट भएर त्यसको विरोध र समीक्षा गर्ने रणनीतिमा देखिएका छन्।यसैबीच, सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।











