वैशाख १७,काठमाडौं।।
देशमा अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी क्षेत्र नजिक रहेको तल्लो वायुमण्डलीय न्यून चापीय क्षेत्रका कारण मौसम बदली भएको छ। यस प्रभावका कारण देशका अधिकांश स्थानमा बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ। मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। विशेषगरी कोशी र मधेश प्रदेशका साथै हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति हिमाली क्षेत्रमा सामान्य बदली तथा पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा तथा अन्य क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले वर्षा, चट्याङ र सम्भावित हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।











