सार्वजनिक बसमा चोरी गरेको आरोपमा कास्की प्रहरीद्वारा तीन जना पक्राउ
  • प्रमुख खबर

साउन ०१, पोखरा ।।
सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको पर्स चोरी गरेको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर -१५ घर भएका ४२ वर्षीय गुरु प्रसाद बजगाई, रौतहट चन्द्रनिगाहापुर -८ घर भई हाल पोखरा -९ शान्तिवन बस्ने वर्ष ३४ को रविन खड्का र झापा कनकाई-८ घर भई हाल पोखरा -१६ खहरे बस्दै आएका ४५ वर्षीय टेकबहादुर भुजेल रहेका छन्।

उनीहरूले हिजो बिहीबार कास्कीको रूपा गाउँपालिका वडा नं. ५ देउरालीबाट पोखरातर्फ आउँदै गर्दा ग २ ख १३७२ नं. को बसमा सवार स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका वडा नं. १३ राङ्खोला बस्ने वर्ष २९ की अनिता श्रेष्ठको पर्स चोरी गरेका थिए।

उनीहरूको साथबाट प्रहरीले सुन जस्तो देखिने पहेंलो रंगको हार १ थान (उक्त हार टुक्रा टुक्रा गरी ३ प्रतिवादीहरुले बाँडेको टुक्राहरु) र चाँदीको बेरुवा औंठी २ थान बरामद गरेका थिए ।

पक्राउ परेकाहरुविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्