साउन ०१, पोखरा ।।
जिल्ला समन्वय समिति(जिसस) कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलीले गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण गरेको छ ।
कोपिला नेपालद्वारा व्यवस्थापन भएर सञ्चालनमा ल्याइएको उक्त पुनर्स्थापना केन्द्रको शुक्रबार(आज) अनुगमन तथा निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा प्रमुख पौडेलले तत्कालीन समय २०७९ असारको पहिलो हप्ता आफूले जिससको प्रमुखको रूपमा पदभार ग्रहण गरे लगत्तै पोखरा -३३ को आमाचौरस्थित करिब रुग्ण प्राय बनिसकेको भवन अनुगमनमा पुगेको स्मरण गरे ।
उनले तत्कालीन मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र सामाजिक विकास मन्त्री नरदेबी पुन रहेको गण्डकी प्रदेश सरकारले निर्माण शुरु गरेर करिब ३ वर्षसम्म विवादका कारण रुग्ण बन्न पुगेको थाहा हुनासाथ पहिलो समन्वय र सहजीकरणमा पुगेको उल्लेख गरे ।
पहिलो अनुगमन र पटक पटकका समन्वय बैठक आयोजना गरेर समाधानको बाटो खोज्ने क्रममा विभिन्न समयमा बनेका प्रदेश सरकार र महानगर समेतले पहल कदमी लिदै गर्दा सो को व्यवस्थित संचालनको न त खाका नै बन्यो , राज्यको करोडौं लगानी बर्बादिको चरणमा पुग्नै लाग्दा जिससले समन्वय, खबरदारी र सहजीकरणमा निरन्तर लाग्दा संचालन सम्भव भएको बताए ।
यसबाट गण्डकी प्रदेशभरका हिंसा पिडित आश्रय बिहिन महिला तथा बालबालिका लाभान्वित भएको देख्न पाँउदा अत्यन्त हर्ष लागेको समेत बताए ।
त्यस्तै जिल्ला समन्वय अधिकारी नवराज बरालले पछिल्लो समय संचालन र व्यवस्थापनका कठिनाइबारे जानकारी लिन अनुगमन गरिएको बताउँदै विद्यमान समस्याको समाधान र केन्द्रको दीर्घकालीन संचालनका लागि निरन्तर समन्वय गर्ने प्रतिवद्धता व्यक्त पनि गरे ।
जिसस कास्कीका शाखा अधिकृत एवं महिला तथा बालबालिका सम्बन्धि फोकल पर्सन लक्षु शर्माले प्रदेश विकास समस्या समाधान समितिका बैठक र विभिन्न समन्वय बैठकमार्फत जिससको निरन्तर प्रयत्न र निर्माण संचालनका निम्ति आफुहरूको पहल सार्थक भएको भन्दै खुशी व्यक्त गरे।
व्यवस्थापनको जिम्मेवारी सहित सो केन्द्र संचालन गरिरहेको कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालले जिसस प्रमुख पौडेल नेतृत्वको टिमले यस केन्द्रको सफ़ल संचालनमा खेलेको भुमिका अति फलदायी भएको उल्लेख गर्दै संचालन र व्यवस्थापनको समस्या ,चुनौती र भावी योजनाको सम्बन्धमा जानकारी गराइन् ।
सिलवालले सो केन्द्रमा ७ वर्ष मुनिका ११ जना ,७ बाट १८ वर्ष मुनिका १९ जना बालबालिका र ११ जना महिला गरि जम्मा ४८ जनाले आश्रय लिएको र गत असोज महिनादेखि हाल सम्म १२० जनालाइ सेवा प्रदान गरिसकेको जानकारी दिइन् ।
केन्द्रमा मनोपरामर्श सहित अन्य सिपमुलक तालिम समेत प्रदान गर्ने गरिएको बताइएको छ । जसअन्तर्गत तरकारी,पशुपालन तथा अन्य खेती प्रविधि , हस्तकला सहित रुचि अनुसारको सीप विकास र सशक्तिकरणका कार्य समेत संचालन गर्ने गरेको सिलवालले बताइन्।
यस्तै उनले यस क्षेत्रमा खानेपानीको समस्या समाधानको पहल गरिदिन स्थानिय वडा र महानगरपालिकालाई आग्रह गरिएको भन्दै सो को समन्वयका लागि प्रमुख पौडेललाई आग्रह पनि गरिन्।
केन्द्रभित्रको परिसरमा पुरानो अर्को भवनको निर्माण कार्य पूरा गर्न सहयोगदाताको खोजी भैरहेको पनि सिलवालले उल्लेख गरिन् ।
करिब ६ वर्षसम्म अलपत्र अवस्थामा रहेर गण्डकी प्रदेश सरकारले निर्माण सम्पन्न गरेको उक्त आयोजना हाल कोपिला नेपालको व्यवस्थापनमा पोखरा महानगरको संयोजनमा संचालनमा आएको हो।
गत वर्ष साउन १६ गते गण्डकीका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उक्त केन्द्रको उद्घाटन गरेका थिए ।








