आज गुरु पूर्णिमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
  • प्रमुख खबर

साउन १३, पोखरा ।।
बुधबार(आज) असार शुक्ल पूर्णिमाका अवसरमा देशभर श्रद्धा, सम्मान र कृतज्ञताका साथ गुरु पूर्णिमा पर्व मनाइँदैछ। जीवनलाई सही मार्गतर्फ डोर्‍याउने, अज्ञानको अन्धकार हटाएर ज्ञानको प्रकाश फैलाउने गुरुहरूप्रति सम्मान प्रकट गर्दै विद्यालय, शैक्षिक संस्था, धार्मिक तथा सामाजिक सङ्घसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।

सनातन परम्पराअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश मानिन्छ। अज्ञानरूपी अन्धकारलाई ज्ञानरूपी प्रकाशले हटाउने व्यक्तिलाई गुरु भनिने धार्मिक ग्रन्थहरूमा उल्लेख छ। तन्त्रशास्त्र तथा धर्मशास्त्रले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपका रूपमा व्याख्या गरेका छन्। त्यसैले गुरु केवल शिक्षक मात्र नभई जीवनलाई दिशा दिने मार्गदर्शकका रूपमा सम्मानित छन्। ‘आचार्यदेवो भव’ भन्ने वैदिक मान्यताले पनि गुरुलाई देवतासरह सम्मान गर्नुपर्ने सन्देश दिन्छ।

गुरु पूर्णिमाका अवसरमा विद्यार्थीहरूले आफ्ना गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने, आशीर्वाद लिने तथा गुरु–शिष्य सम्बन्धलाई थप सुदृढ बनाउने परम्परा रहेको छ। विभिन्न विद्यालय तथा शैक्षिक संस्थामा सम्मान कार्यक्रम, प्रवचन, सांस्कृतिक प्रस्तुति र विशेष समारोहमार्फत गुरुहरूको योगदानको स्मरण गरिँदैछ।

आजकै दिन महर्षि वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइँदैछ। वेदव्यासले विशाल वैदिक ज्ञानलाई व्यवस्थित गर्दै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्नुभएको मान्यता छ। यसका साथै वेदको गूढ ज्ञानलाई सर्वसाधारणले सहज रूपमा बुझ्न सकून् भन्ने उद्देश्यले उनले १८ पुराण र १८ उपपुराणको रचना गरेको विश्वास गरिन्छ।

महर्षि व्यासले आफ्नो साहित्यिक तथा दार्शनिक योगदानमार्फत मानव समाजलाई नैतिकता, धर्म, सत्य र परोपकारको मार्गमा अघि बढ्न प्रेरित गरेका छन् । ‘अरूको हित गर्नु नै धर्म हो र अरूलाई दुःख दिनु पाप हो’ भन्ने मानवीय सन्देश उनका रचनामा स्पष्ट रूपमा प्रतिबिम्बित भएको पाइन्छ। पाँचौँ वेदका रूपमा परिचित महाभारतको रचनाकारका रूपमा पनि वेदव्यासलाई विशेष सम्मान गरिन्छ।

गुरु पूर्णिमा तथा व्यास जयन्तीका अवसरमा धार्मिक स्थलहरूमा विशेष पूजा, आराधना र प्रवचनका कार्यक्रम भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्