साउन १९,पोखरा।।
पोखरा–१६, जुम्लेटिकास्थित श्री शान्ति माध्यमिक विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई उद्योग, उत्पादन तथा व्यापार व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गराएको छ। शैक्षिक सत्र २०८३/०८४ अन्तर्गत मिति २०८३ श्रावण १८ गते सोमबार आयोजित उक्त कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले पोखरा औद्योगिक क्षेत्रभित्र रहेका विभिन्न उद्योगहरूको अवलोकन गरेका हुन्।
विद्यालयले विगतदेखि नै विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव दिलाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसपटकको भ्रमणमा विद्यार्थीहरूले सुजल डेरी प्रा.लि., पी.आर. नेशनल प्लास्ट प्रा.लि., पोखरा केमिकल्स उद्योग, हिमालयन लाइफ प्लास्टिक प्रा.लि. तथा पोखरा फुड्स प्रा.लि. लगायत उद्योगहरूको स्थलगत अध्ययन गरेका थिए।

अवलोकनपछि विद्यार्थीहरूले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई प्रत्यक्ष रूपमा हेर्न र बुझ्न पाउँदा सिकाइ थप प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार प्रत्यक्ष अवलोकन र उद्योगी–व्यवसायीसँगको अन्तरक्रियाले विषयवस्तु बुझ्न र दीर्घकालीन रूपमा स्मरण गर्न सहज बनाएको छ।
विद्यालयका सूचना अधिकारी भरत आचार्यका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यवसायिक अध्ययन, अर्थशास्त्र, सामाजिक तथा जीवनोपयोगी शिक्षामा ज्ञान अभिवृद्धि हुनुका साथै नेपालमै व्यवसाय र रोजगारीका सम्भावना रहेको सन्देश दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

यसैबीच, हालै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूले विद्यालयको अध्यापन शैली, विद्यार्थीप्रतिको जिम्मेवारी र व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले कम खर्चमा गुणस्तरीय शिक्षा हासिल गर्नका लागि शान्ति माध्यमिक विद्यालय उपयुक्त विकल्प रहेको बताएका छन्।
विद्यालयमा उपलब्ध भौतिक पूर्वाधार, निःशुल्क अतिरिक्त कक्षा, व्यक्तिगत हेरचाह, विद्यार्थीको क्षमता अनुसारको अध्यापन, नियमित अभिभावक परामर्श तथा सहभागितामूलक कार्यक्रमहरूले अभिभावक र विद्यार्थी दुवै सन्तुष्ट हुने गरेको विद्यालय प्रशासनले जनाएको छ।
उक्त अवलोकन कार्यक्रममा कक्षा शिक्षकहरू पवन तिमिल्सीना र सृजना पौडेलको समेत सहभागिता रहेको थियो भने कार्यक्रमको व्यवस्थापन शिक्षक रामचन्द्र पौडेलले गरेका थिए। कार्यक्रम सफल बनाउन सहयोग पुर्याएकोमा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समिति, त्यहाँका कर्मचारीहरू तथा सम्बन्धित उद्योगप्रति विद्यालयका प्रधानाध्यापक सूर्य गिरीले धन्यवाद व्यक्त गरेका छन्।









