साउन १९, सोलखुम्बु ।।
नेपालको ७७ जिल्लाका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई चित्रकलामार्फत विश्वसामु चिनाउने उद्देश्यले तयार गरिएको ‘नेपाल कला यात्रा’ पुस्तक सोलुखुम्बुको सल्लेरी लोकार्पण गरिएको छ।
समाजसेवी एककुमारी कार्की र श्री चन्द्रज्योति आधारभूत विद्यालयकी प्रधानाध्यापक सरस्वती कार्कीले एक विशेष समारोहकाबीच पुस्तकको संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
नेपालको १०१ प्रमुख पर्यटकीय गन्तव्यलाई चित्रकलामा उतारी तयार गरिएको पुस्तकलाई आगामी दिनमा विश्वका १९७ भाषामा अनुवाद गरी विभिन्न देशका विश्वविद्यालय र पुस्तकालयमा निःशुल्क वितरण गर्ने महत्वाकांक्षी योजना रहेको पुस्तकका सर्जक, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य तथा विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीले जानकारी दिए।
उनले चित्रकला पर्यटन प्रवर्द्धनको सशक्त माध्यम बन्न सक्ने विश्वास व्यक्त गर्दै नेपालको अनुपम प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने अभियानका रूपमा यस योजनालाई अघि बढाइएको बताए।
उनका अनुसार ‘नेपाल कला यात्रा’ अभियानको घोषणा २०६७ कात्तिक ६ गते भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट गरिएको थियो । यस्तै २०७१ जेठ ३० गते ताप्लेजुङको पाथीभरा देवी मन्दिरबाट ७७ जिल्लाको कला यात्राको औपचारिक सुरुआत गरिएको थियो।
पुस्तकमा पहिलो चित्रका रूपमा पानी रङमा तयार गरिएको पाथीभरा देवी मन्दिर समावेश गरिएको छ। यसै अभियानकै क्रममा सोलुखुम्बुको विश्वप्रसिद्ध सगरमाथा र त्यहाँका मनमोहक झर्नालाई समेत क्यानभासमा उतारिएको उनले बताए।
यसरी देशभरका सम्पदालाई एउटै कृतिमा समेटेर नेपाललाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य अभियानको रहेको कलाकार ठकुरीले स्पष्ट पारे।
नेपालको कला तथा पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप कलाकार ठकुरीलाई २०८० वैशाख १ गते राष्ट्रपतिबाट ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गरिएको थियो।
ललितकलामा स्नातकोत्तर अध्ययन ठकुरीले हालसम्म १२ वटा एकल कला प्रदर्शनी सम्पन्न गरिसकेका छन्। उनले २०७४ को स्वर्ण पदक, अरनिको युवा पुरस्कार, दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी पुरस्कार, नेपाल कमर्सियल आर्टिस्ट संघको सम्मान लगायत दर्जनौँ राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्।
कलाकार ठकुरीले दोस्रो संस्करणमा ७७ जिल्लाका सम्पूर्ण चित्रकृतिलाई अझ परिष्कृत रूपमा समेटेर विश्वका विभिन्न मुलुकका विश्वविद्यालय र पुस्तकालयमा सम्बन्धित देशकै मातृभाषामा कम्तीमा ३०० प्रति निःशुल्क वितरण गर्ने योजना रहेको पनि उल्लेख गरे।
यसबाट विदेशी पाठकले नेपालबारे अध्ययन गरी नेपाल भ्रमणमा आकर्षित हुने र पर्यटनमार्फत देशको आर्थिक विकासमा टेवा पुग्नेमा विश्वास रहेको उनले बताए।
त्यस्तै ‘नेपाल कला यात्रा’ पुस्तकलाई विश्व कीर्तिमानमा दर्ता गराउने तयारीसमेत भइरहेको ठकुरीले जानकारी दिए । अभियानमा देशभरबाट उल्लेखनीय जनसहभागिता देखिएको छ। हालसम्म कलाकार, पत्रकार, शिक्षाविद्, धर्मगुरु, साहित्यकार, व्यवसायी लगायत महानायक राजेश हमाल, राजकुमार राई, रेजिना उप्रेती, र्यापर हाकिम (सुरेन्द्र गुरुङ), ज्योति मगर, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, दीपक बज्राचार्य, प्रकाश दुतराज, टिका प्रसाईं, रितु कडेल, डीजे नान, सुप्रिम मल्ल ठकुरीलगायत २ हजार भन्दा बढी व्यक्तिले आर्थिक तथा नैतिक सहयोग गर्दै अभियानमा ऐक्यबद्धता जनाइसकेका छन्।
विषेशगरी कलाकार ठकुरीले नेपाल कला यात्रालाई केवल पुस्तकका रूपमा मात्र नभई नेपालको कला, संस्कृति, सम्पदा र पर्यटनलाई विश्वसामु चिनाउने राष्ट्रिय अभियानका रूपमा अगाडि बढाइरहेको बताएका छन्।








