राष्ट्र बैंकको बोर्ड संरचना टुंगियो, ७ सदस्यीय व्यवस्था यथावत्
  • प्रमुख खबर

Oplus_131072

साउन १९, काठमाडौं ।।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि प्रतिनिधिसभाको दफावार छलफलका क्रममा राष्ट्र बैंकको सञ्चालक समितिको संरचनामा सहमति जुटेको छ। मंगलबार(आज) विधेयकको दफा १० अन्तर्गत भएको छलफलपछि सञ्चालक समिति ७ सदस्यीय नै रहने निर्णयमा सहमति बनेको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिएका छन्।

हाल कायम रहेको २ जना डेपुटी गभर्नरको व्यवस्था यथावत् राखिने भएको छ भने सञ्चालक समितिमा अर्थ सचिवको प्रतिनिधित्व पनि निरन्तर रहनेछ। यस्तै सञ्चालक समितिमा रहने ३ स्वतन्त्र सञ्चालकमध्ये कम्तीमा १ जना महिला अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था पनि सुनिश्चित गरिएको छ। यस व्यवस्थाले समितिलाई थप समावेशी र व्यावसायिक बनाउने अपेक्षा गरिएको छ।

यसअघि दफावार छलफलका क्रममा सांसदहरूले राष्ट्र बैंकको संस्थागत संरचना, पदाधिकारीको संख्या तथा सञ्चालक समितिको स्वायत्तताबारे आ–आफ्ना धारणा राखेका थिए।

विशेषगरी डेपुटी गभर्नरको संख्या थप्ने विषय र सञ्चालक समितिमा अर्थ सचिवको भूमिकालाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच फरक मत देखिएको थियो। अन्ततः अर्थ मन्त्रालयले प्रस्ताव गरेअनुसार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिलाई हालकै ७ सदस्यीय संरचनामा कायम राख्ने सहमति बनेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्