साउन २९, काठमाडौं ।।
संसदीय समितिको बैठकमा बोल्दा मर्यादित तथा शिष्ट भाषा प्रयोग गर्नुपर्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति समीक्षा बास्कोटाले यस्तो रुलिङ गरेकी हुन् ।
विषेशगरी समितिमा आफूहरुले बोलाउने व्यक्तिहरू कुनै न कुनै संगठन, मन्त्रालयदेखि लिएर विभिन्न निकायका प्रमुखका रूपमा रहेर काम गरिरहेका व्यक्तिहरु हुने भएकाले समितिमा बोलिने भाषा, प्रयोग गरिने शब्द र व्यवहार यो सबै आम नागरिकले पनि हेरिरख्ने भएकाले समितिमा बोल्ने विषयमा विषयान्तर नभइकन र प्रयोग गर्ने भाषामा पनि त्यत्तिकै सचेत र संवेदनशील भएर विषय उठान गर्नको लागि उनले सबैमा अनुरोध पनि गरेकी छन् ।
पछिल्लो समयमा समितिमा कतिपय सांसदहरूले आमन्त्रित व्यक्तिमाथि अपमानजनक भाषासहित तिखो टिप्पणी गर्ने क्रम बढेको छ । यसलाई ख्याल गर्दै संसदीय समितिकि सभापति बास्कोटाले आफ्नो समितिमा मर्यादित भाषा प्रयोग गर्न भनेकी हुन् ।
यस्तै शुक्रबार(आज)कानुन न्याय तथा मानव अधिकार समितिमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ उपर छलफल र सुझाव संकलन गर्ने कार्यसूची छ ।
बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन २०८३ पारित गर्ने कार्यसूची समेत छ ।









