काठमाडौं / माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा समयमै प्रकाशित नहुने भएको छ। शिक्षकहरूले आफ्ना मागहरू पुरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने अडान लिएपछि मूल्यांकन प्रक्रिया प्रभावित भएको हो।
परीक्षा नियन्त्रक कार्यालयका अनुसार उत्तरपुस्तिका परीक्षण यही हप्ता सुरु हुनुपर्ने थियो। तर, शिक्षकहरूको असहयोगका कारण यो प्रक्रिया अन्योलमा परेको छ। “परीक्षण केन्द्रमा उत्तरपुस्तिका पठाउने काम भइरहेको छ तर परीक्षण प्रक्रिया सुरु हुन सकेको छैन”, निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए।
शिक्षक महासंघले शिक्षाको गुणस्तर, शिक्षकको अधिकार र विद्यालय सुधारका मागसहित आन्दोलन चर्काउँदै चैत्र २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेको छ। आन्दोलनका क्रममा शिक्षकहरूले कुनैपनि प्रकारको शैक्षिक गतिविधिमा सहभागी नहुने स्पष्ट पारेका छन्।
यस आन्दोलनको प्रभावले एसईई नतिजा मात्रै नभई भर्ना अभियान, विद्यालयको आन्तरिक मूल्यांकन तथा वार्षिक परीक्षाका नतिजाहरू समेत प्रभावित भएका छन्। यसवर्ष नियमित ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ परीक्षार्थी सहभागी भएका थिए।
यदि आन्दोलन चाँडै समाधान भएन भने विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शैक्षिक प्रणाली थप अन्योलमा पर्न सक्ने देखिन्छ।










