काठमाडाैं ।।
यातायात कार्यालय, सवारी अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर भएको छ ।
गाैतमले सेवामा रहँदा पदीय मर्यादाविपरित गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीविरुद्ध मुद्दा दायर गरेकाे हाे ।
उनीविरुद्ध २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ।
वि.सं २०५५ सालमा सार्वजनिक सेवामा प्रवेश गरेका गाैतमकाे अख्तियारले सेवा प्रवेश गरेदेखि २०७९ सालसम्मको अवधिमा उनकाे चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा उनले ५ करोड ४० लाख ९८ हजार ९ सय ५५ रुपैयाँ आर्जन गरेको देखिएकोमा २ करोड ८९ लाख २० हजार २ सय ६८ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ ।
गौतमले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ अख्तियारले उनकी श्रीमती सरला नेपाललाई पनि प्रतिवादी बनाएको छ ।












