पाेखरा ।।
शिक्षासेवी डा. टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा निधन भएको छ । पोखरा -११, फूलबारीस्थित निवासमा आइतबार मध्यान्ह १२ बजेर ५५ मिनेटमा उनको निधन भएको हो ।
सम्पूणानन्द विश्वविद्यालय बनारसबाट संस्कृत साहित्यमा प्रथम श्रेणीमा आचार्य तथा विद्यावारिधि गरेका डा. बास्तोलाले लामो समय शिक्षा क्षेत्रमा सेवा अर्पण गरेका थिए ।
वाराही मा.वि.मा निरन्तर अध्यापन गरेर सेवा निवृत्त भएका उनी त्यसपछि पनि विभिन्न शैक्षिक, सामाजिक,धार्मिक तथा साहित्यिक संस्थाहरुमा क्रियाशील रहेका थिए ।
उनी शिव शक्ति मा.वि, शिक्षा महाविद्यालय र रामेश्वर मन्दिर फूलबारीका पूर्व अध्यक्ष हुन् ।
यसैगरी लेखनाथ साहित्य प्रतिष्ठानका सल्लाहकार तथा लेखनाथ जन्मघर जीर्णाेद्धार समितिका संयोजक रहेका थिए । उनले शिवशक्ति मा.वि.मा प्रतिभा सम्मान कोष स्थापना गरेका थिए ।
यसैगरी विभिन्न धार्मिक अनुष्ठानहरुमा उनको सहयोग रहेको छ । उनीमहेन्द्र विद्याभूषणबाट विभूषित भएका थिए ।
वाराही मावि, शिवशक्ति मावि,शिव शक्ति क्याम्पस, शिक्षा महाविद्यालय, लेखनाथ साहित्य प्रतिष्ठान, नवनीत साहित्य सागर, विन्दवासिनी संस्कृत विद्यापीठ लगायतका संस्थाबाट उनी सम्मानित भएका थिए ।
स्व.बास्तोलाका धर्मपत्नी मुगादेवी, छोरा रमेश, दुई छोरी प्रभा पौडेल र कमला पराजुलीतथा पाँच नातिनातिना छन् । साथै, एक दाजु, तीन भाइ र एक बहिनी छन् ।
दिवंगत बास्तोलाको शवयात्रा सोमबार बिहान १० बजे हुने पारिवारिक स्रोतले जनाएको छ । उनको पोखरा–११ सेतीगण्डकी, कालीखोला र भलाम खोलाको दोभान रिठ्ठाघाटमा अन्त्येष्टि गरिने भएको छ।










