महानगर अस्पताल शिसुवाको अध्यक्षमा गिरीको
  • प्रमुख खबर

लेखनाथ ।।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरेका छन् ।

गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन वर्षका लागि अध्यक्षमा मनोनित गरेका हुन् ।

अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं. २७ तालचोक निवासी हुन् । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आइरहेका छन् ।

यसैगरी मेयर आचार्यले सदस्यहरुमा पोखरा २६ का सुर्यनाथ भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका अधिकारी पराजुली, वडा नं. ३० का धु्रवराज न्यौपाने, शिव न्यौपाने र लक्ष्मी प्रसाद त्रिपाठीलाई मनोनित गरेका गरेका छन् ।

उनीहरुलाई पनि तीन वर्षका लागि नियुक्त गरिएको हो ।
अस्पताल व्यवस्थापन समितिमा वडा नं. ३० का अध्यक्ष र महानगर स्वास्थ्य महाशाखा प्रमुख सदस्य एवं मेडिकल सुपरिटेण्डन सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था रहेको छ ।

कार्यविधि अनुसार वडा नं. ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, महाशाखा प्रमुख भरतराज पौडेल र सदस्य सचिवमा मेडिकल सुपरिटेण्डन डा. सुमन खनिया सदस्य सचिव रहेका छन् ।

समितिका अध्यक्ष एवं सदस्यहरुलाई मनोनयन गरिएको पत्र वितरण गर्दै, महानगर प्रमुख आचार्यले शिसुवा अस्पताललाई स्तरोन्ती गरि महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे।

उनले साविक लेखनाथ नगरपालिकाको भवनमा जलन उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडी बढाइएको समेत बताए।

मेयर आचार्यले महानगरको एकमात्र अस्पताल भएकाले विशेषज्ञ सेवा सहित जनशक्ति थप गरिने बताए।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बाबुराम गिरीले महानगरसँग समन्वय गरेर सबैको पहुँच पुग्ने गरी अस्पताललाई सुधार गरिने बताए ।

उनले अस्पतालमा बिरामीको चाप अनुसारको जनशक्ति उपलब्ध हुन नसकेको पनि जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापा, वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ्ग, वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं. ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी,  वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीले महानगरकै अब्बल अस्पताल हुनेगरी काम गर्न व्यवस्थापन समितिलाई आग्रह गरेका छन्।

कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले सबल व्यवस्थापन समिति गठनका लागि केही समय ढिलो भएको उल्लेख गर्दै अब अस्पतालले गतिलिने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्