शुक्लाले जनकविकेशरी धर्मराज थापाको जन्मजयन्ती मनाउदै
  • प्रमुख खबर

असार २८, पोखरा ।।

जनकवि केशरी धर्मराज थापाको १ सय १ औं जन्मजयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रम गरिने भएको छ।

पोखराको बाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले “सम्झनामा जनकवि केशरी” विशेष स्मृति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको सचिव रामप्रसाद पाैडेलले जानकारी दिए ।कवि स्वर्गीय थापाको जन्म दिनको अवसरमा यही साउन १ गते बिहान बाटुलेचौरमा स्मृतिमा शब्द, साधना र संगीतका विषयमा चर्चा गरिने बताईएको छ।

लाेक साहित्य र गीत, संगीतका शिखर पुरुष जनकवि थापाले लोक संस्कृतिमा आधारित विभिन्न पुस्तक प्रकाशन गरी र विभिन्न लोक रचनामा आवाज भरेर नेपाली लोक संगीतलाई विश्व माझ चिनाएका छन् । उनले लेखेको गण्डकीका सुसेली नामक कृतिमा गण्डकी क्षेत्रका विभिन्न ठाउँको ऐतिहासिक परिचय पाउन सकिन्छ।

जीवनको अधिकांश समय लोक साहित्य रचना एवम् खोजी कार्यमा विताएका थापाले प्रतिष्ठानको स्थापना गरेका हुन् । जनकवि केशरीको स्मृतिमा प्रतिष्ठानले राष्ट्रिय पुरस्कार समेत संचालन गरिरहेको छ। उहाँको हरियो डाँडा माथि हलो जोत्ने साथी गीत आज पनि निकै चर्चित छ । उहाँले वि.सं. २०१३ मा राजा महेन्द्रबाट ‘जनकवि केशरी’ को उपाधि पाएका थिए ।

वि.सं. १९८१ साउन १ गते पोखराको बाटुलेचौरमा जन्मिएका थापाको वि.सं. २०७१ असोज २८ गते काठमाडौ स्वयम्भु स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँले विसं २०२५ सालमा “मङ्गली कुसुम” नामक ग्रन्थको लागि पद्य विधामा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो भने २०५७ सालमा जगदम्बाश्री पुरस्कार र त्यसबाहेक वि.सं. २०२५ को इन्द्रराज्यलक्ष्मी पुरस्कार, वि.सं. २०१३ र वि.सं. २०३१मा शुभ राज्याभिषेक पदक, वि.सं. २०४१मा लोक साहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदक लगायतका विभिन्न सम्मान प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्