भाद्र ६ गते, शुक्रबार
पोखरा ।। पोखराको लामाचौर स्थित गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरू एकाएक बिरामी परेका छन् । बिहीबार साँझको खाना खाएर सुतेका विद्यार्थीहरू रातको दुई बजेदेखी अचानक बिरामी परेको हुन्।
होस्टेलमा रहेका करिब ५ सय ३० विद्यार्थीहरुमध्ये २ सय ७८ जनालाई टाउको दुख्ने, उल्टी हुने, पेट दुख्ने लगायतका समस्या देखिएको हो ।
होस्टेलमा बस्दै आएका विद्यार्थीहरू अचानक बिरामी पर्न थालेपछि अभिभावकमाझ त्रास फैलिएको छ। यस विद्यालयका हेल्थ सेन्टर इन्चार्ज अहेब सूर्य ओझाले अधिकांश विद्यार्थीहरुमा फुड प्वाइजन भएको हुन सक्ने बताए । तर फुड प्वाइजन कुन खाने कुरामा भयो भन्ने पत्ता लाग्न अझै नसकेको उनले बताए ।
होस्टेलमा अचानक बिरामीको त्रास फैलिएपछी कतिपय अभिभावकहरुले आफ्ना बाबुनानीहरुलाई होस्टेलबाट निकालेर बाहिर उपचारका लागि लगेका छन् भने कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई लिन आउने क्रम जारी रहेको छ ।
विद्यार्थीहरूको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै स्थानीय र अभिभावकले विद्यालय व्यवस्थापनको आलोचना गरेका छन्।
वि. सं २०२३ साल जेष्ठ २९ गते स्थापना भएको यस विद्यालयको सुरुवाती नाम नेपाल आदर्श बिद्याश्रम थियो र पछि उक्त नाम परिवर्तन भई गण्डकी बोर्डिङ स्कूल राखिएको हो।
यस विद्यालय नेपालको एक प्रतिष्ठित विद्यालयमध्येको एक मानिन्छ । विषेशगरी शैक्षिक र प्रशासनिक उत्कृष्टताको प्रतीकका रूपमा परिचित छ यो विद्यालय।
तर पछिल्लो समय यस विद्यालय शैक्षिक र प्रशासनिक उत्कृष्टताले भन्दा पनि यस भित्र हुने गरेका प्रवेश परीक्षा, प्रशासनदेखि रुख कटान जस्ता विवादित विषयले बेला – बेला चर्चामा आउने गरेको छ ।
ती विवादित घटनाहरुमा विद्यालयको कक्षा ४ मा लिइने प्रवेश परीक्षामा अनियमितताको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो।
डिभिजन वन कार्यालय कास्कीले विद्यालय परिसरभित्र अनुमति नलिई २५ वटा सिसौ र सल्ला जस्ता महत्त्वपूर्ण रूख काटेर फर्निचर सामग्रीमा प्रयोग गर्न बाहिर बिक्री गरेको आरोपमा प्रधानाध्यापक वीरेन्द्र खड्कासहित आठ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको थियो।
त्यस्तै कक्षा १२ को बोर्ड परीक्षा परिणाममा नतिजा फेरबदल गरिएको आरोप लागेको थियो। सरकारले तोकेको होम सेन्टरमा परीक्षा संचालनको क्रममा कमजोर विद्यार्थीको नम्बर बढाएको र सक्षम विद्यार्थीको नम्बर घटाएर नतिजा प्रकाशित गरेको पछि अख्तियारले छानबिन गरेको थियो।
यस्तै विवादले घेरिएको यस विद्यालय पूर्न समस्यामा परेको हो । होस्टेलमा बस्दै आएका विद्यार्थीहरू अचानक बिरामी हुन थालेपछि फेरि एकपटक यो विद्यालय विवादमा तानिएको हो ।












