पोखरामा जापानी विश्वविद्यालय टोली, पर्यटन र फोहोर व्यवस्थापनबारे चासो
  • प्रमुख खबर

भाद्र २०, पाेखरा ।।
जापानको क्योटोस्थित रित्सुमेइकान विश्वविद्यालयका प्रोफेसर डा. मीवा हिरोनो नेतृत्वको टोलीले शुक्रबार (आज) पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ।

भेटमा प्रोफेसर हिरोनो सहित विश्वविद्यालयमा लैङ्गीक समानता, कृषि, पर्यटन र फोहोर व्यवस्थापन लगायतका विषयहरुमा अध्ययन गरिरहेका ८ जना विद्यार्थीहरुकाे समेत सहभागीता थियाे ।

पाेखरा आएका ती विद्यार्थीहरूले नगरपालिकाले अंगीकार गरेका नवीन अभ्यासबारे चासो देखाएकाे महानगरले जनाएको छ ।

महानगरका अनुसार विशेषगरी उनिहरुले मेयर समक्ष पर्यटकीय राजधानी पोखराको पर्यटन विकास र फोहोर व्यवस्थापनका सम्बन्धमा जिज्ञासा राखेकाे बताइएको छ।

नगर प्रमुख आचार्यले पोखरेली पर्यटनको प्रवद्र्धन, विकास र प्रचारप्रसारका लागि महानगरबाट भइरहेकाे पहलहरुका बारेमा बताएका छन् ।

उनले विश्वमै विरलै हुने ‘पर्यटन राजधानी’ घोषणापछि महानगरले “पोखरा भ्रमण वर्ष घोषणा” गरेर विश्वभरिका पर्यटकलाई आकर्षित गर्ने अभियान चलाइरहेको बताए।

यस्तै फोहोर व्यवस्थापनका सवालमा उनले दीगो समाधानका लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक प्रक्रिया पूरा गरेर चाँडै सम्झौताकाे चरणमा रहेकाे जानकारी दिए।

रित्सुमेइकान विश्वविद्यालयमा मानविकी, समाजशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, विज्ञान तथा प्रविधि र व्यवस्थापन जस्ता विषयमा अध्यापन हुँदै आइरहेकाे छ ।

अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रियकरणमा विशेष मान्यता पाएको यस् विश्वविद्यालय जापानकै पहिलो संस्थामध्ये समेत एक मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्