कास्कीमा निजी विद्यालय भाद्र ३० देखि खुल्दै, सरकारी विद्यालय भने असोज १ देखि मात्र
  • प्रमुख खबर

भाद्र २८, पोखरा ।।
कास्कीमा जेनजी प्रदर्शनका कारण अवरुद्ध बनेको शैक्षिक गतिविधि पुन: सुचारु हुने भएको छ ।

विषेशगरी कास्की जिल्ला अन्तर्गत रहेका निजी विद्यालयहरु जनजीवन सामान्य अवस्थामा फर्कन थालेसँगै पुन: सुचारु हुनेभएको हो।

निजी विद्यालयसँग सम्बन्धित विभिन्न संघ–संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी भाद्र ३० गतेदेखि पढाइ सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेका हुन्।

मोन्टेश्वरी एसोसिएसन कास्कीका अध्यक्ष भवानी अधिकारी, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, एनप्याब्सन अध्यक्ष हेमन्त अधिकारी र प्याब्सन अध्यक्ष षडानन्द गौतमद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा विद्यालय सञ्चालनका लागि अनुकूल वातावरण बनेको उल्लेख गरिएको छ।

हालै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा हटाएको र यातायात तथा बजार सामान्य अवस्थामा फर्किसकेकाले पढाइ सुरु गर्न लागिएको प्याब्सन अध्यक्ष षडानन्द गौतमले जानकारी दिएका छन् ।

यता, पोखरा महानगरपालिका भित्र रहेका सरकारी विद्यालय भने असोज १ गतेदेखि मात्र सञ्चालन गर्ने पोखरा महानगरले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्