कार्तिक १४, काठमाडौं ।।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन तथा पुनःनिर्माण योजना बनाउन राष्ट्रिय योजना आयोगले ४४ जिल्लामा ३८ वटा अध्ययन टोली परिचालन गरेको छ।
आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार टोलीले आगामी एक साताभित्र सबै क्षतिको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको बताएका छन्।
तथ्याङ्क सङ्कलनमा एकरूपता ल्याउन आयोगले ‘क्षति मूल्याङ्कन सर्वेक्षण पोर्टल’ सञ्चालन गरेको छ ।
यस मार्फत स्थानीय तह, प्रदेश र संघ निकायहरूले अनलाइनमार्फत विवरण पेस गर्न सक्ने व्यवस्था मिलाइएको छ।
सर्वेक्षण पोर्टल प्रयोगका लागि ४४ जिल्लाका करिब २ सय ६० स्थानीय तहहरू, सबै प्रदेशका कार्यालयहरू र संघीय निकायहरूलाई युजरनेम र पासवर्ड उपलब्ध गराइएको आयोगले जनाएको छ।
तथ्याङ्क संकलनको मुख्य जिम्मेवारी सम्बन्धित पालिका, प्रदेश र संघीय कार्यालयहरूलाई दिइएको भएपनि सहजीकरणका लागि प्राविधिक जनशक्तिसहितका टोलीहरू समेत खटाइएको लुइँटेलले बताए ।
आइतबारसम्म सबै टोली कार्यस्थलमा पुगिसक्ने र एक हप्ताभित्र प्रारम्भिक विवरण आयोगमा आइपुग्ने अपेक्षा गरिएको उनले बताए।
यसअघि गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।
उक्त समितिलाई क्षति मूल्याङ्कन र पुनःनिर्माण योजना तयार गर्ने कार्यादेश दिइएको हो।
त्यस्तै, योजना आयोगका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रतिनिधिहरू सम्मिलित सहजीकरण उपसमिति गठन गरिएको छ।
आयोगका अनुसार, उपसचिवहरूको नेतृत्वमा ४१ जिल्लामा ३४ टोली र उपत्यकाका तीन जिल्लामा चार टोली गरी ३८ टोली खटाइएका छन्।
यस्तै सहसचिवहरूको नेतृत्वमा ११ वटा सुपरीवेक्षण टोली पनि प्रदेश र उपत्यकामा परिचालन गरिएको छ।









