पौष १३, पोखरा ।।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले
उज्यालो नेपाल निर्माणका लागि सबै क्षेत्रका नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
पोखराको पर्यटकीय शहर लेकसाइडमा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजित २७औँ संस्करणको पोखरा सडक महोत्सवको आइतबार(आज) उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

मन्त्री घिसिङले आउँदो फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनलाई सही नेतृत्व चयन गर्ने ऐतिहासिक अवसरको रूपमा उपयोग गर्न आग्रह गरे।
देशलाई सुशासनतर्फ अघि बढाउन, गरिबी हटाउँदै समृद्धि हासिल गर्न र सबै क्षेत्र उज्यालो बनाउन सक्षम, इमानदार र दूरदर्शी नेतृत्व संसद र सरकारमा पुग्नुपर्ने उनको भनाइ छ ।
“सरकार र संसदमा सही नेतृत्व आए मात्र देशले चाहेको परिवर्तन सम्भव भएको र निर्वाचन त्यही सही नेतृत्व छनोट गर्ने माध्यम हो, उनले भने ।”
उनले पोखरामा गुणस्तरीय विद्युत सेवा विस्तारका लागि अन्डरग्राउन्ड लाइनलगायतका महत्वपूर्ण कामहरू अघि बढिरहेको जानकारी गराए।
त्यस्तै ग्रीन करिडोर परियोजना अन्तर्गत पोखरा–चितवन–लुम्बिनी क्षेत्रलाई जोड्ने योजना कार्यान्वयनको चरणमा रहेको बताए। यसले ऊर्जा सुरक्षासँगै औद्योगिक र आर्थिक गतिविधिलाई समेत गति दिने उनको विश्वास छ।
यस्तै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकार गम्भीर रूपमा लागिपरेको उल्लेख गर्दै मन्त्री घिसिङले यी विमानस्थलले क्षेत्रीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिए पनि हालसम्म सोअनुसार परिणाम नआएको स्वीकार गरे।
उनले यसका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे। त्यसैगरी उनले फेवाताल संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच एकीकृत प्रयास अनिवार्य रहेको बताए।
“फेवा पोखराको पहिचान मात्र नभई, राष्ट्रिय सम्पदा हो,” उनले भने। यस्तै उक्त कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल वस्यालले प्रदेश सरकारले पर्यटन प्रवर्द्धन र पोखराको अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाउन निरन्तर काम गरिरहेको बताए ।
यसैबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि संघ सरकारलाई बोल्ड निर्णय गर्न आग्रह गरे।
पोखरालाई देशकै पर्यटकीय राजधानीका रूपमा अगाडि बढाइएको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनका सबै अभियानमा महानगर सधैँ पर्यटन व्यवसायीको साथमा रहेको स्पष्ट पारे।
“सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नारासहित आजबाट सुरु भएको पोखरा सडक महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको उद्घाटनअघि लेकसाइड क्षेत्रमा सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो, जसले पर्यटक र स्थानीयको विशेष ध्यान आकर्षित गरेको थियो।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवको उद्देश्य कला र संस्कृति प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार र पोखराको ब्रान्डिङ गर्नु हो।
“सडक महोत्सव अब पोखराको संस्कृतिजस्तै बनिसकेको छ,” उनले भने, “यसले अर्थतन्त्र चलायमान बनाउनुका साथै पोखराको प्रचार–प्रसार र अन्तर्राष्ट्रिय ब्रान्डिङमा महत्वपूर्ण भूमिका खेल्नेछ।”

पर्यटन, संस्कृति र अर्थतन्त्रलाई एउटै सूत्रमा बाँध्ने पोखरा सडक महोत्सवले यस वर्ष पनि लेकसाइडलाई उत्सवमय बनाउँदै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।












