माघ ११, पोखरा ।।
गण्डकी प्रदेशको राजधानी पोखरा र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा महत्वपूर्ण सडक सिद्धार्थ राजमार्गको स्तरोन्नति प्रक्रिया अघि बढेको छ । सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नति प्रक्रियालाई सरकारले अघि बढेको हो ।
सरकारले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) बाट प्राप्त हुने २९ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेसँगै ४८ वर्ष पुरानो राजमार्गको स्तरोन्नति भएको हो । यो रकम डीपीआर तयार गर्न खर्च गरिनेछ ।
२०२७ सालमा भारत सरकारको सहयोगमा निर्माण सुरु भई २०३४ सालमा सम्पन्न भएको सिद्धार्थ राजमार्ग साँघुरो र घुमाउरो हुँदा यात्रा गर्न जोखिमपूर्ण मानिन्छ । बुटवल–सुनौली खण्ड ६ लेनमा विस्तार भइसके पनि बाँकी १५८ किलोमिटर खण्डको स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकताका साथ अगाडी बढाएको हो । स्तरोन्नति पछि बुटवल–पोखराको १५७ किलोमिटर दूरी छोटिएर करिब १ सय १३ किलोमिटरमा सीमित हुनेछ । हाल ६ घण्टा लाग्ने यात्रा अवधि घटेर साढे २ घण्टामा झार्ने योजना छ ।
आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भई वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तिम चरणमा रहेको छ । प्रारम्भिक अध्ययन अनुसार आयोजनाको कुल लागत करिब २० अर्ब रुपैयाँ अनुमान गरिएको छ । १० अर्ब ३९ करोड सडक स्तरोन्नति र ९ अर्ब ३७ करोड सुरुङ तथा भायाडक्ट (लामो पुल) निर्माणमा खर्च अनुमान छ । यो सडक खण्डलाई ‘डेडिकेटेड डबल लेन’ मा विस्तार गरिनेछ ।
अप्ठ्यारा घुम्ती र पहाडी खण्ड छोट्याउन २३.३०६ किलोमिटर लम्बाइका ८ वटा सुरुङमार्ग, २७ वटा भायाडक्ट र १४ वटा पुल निर्माण गरिनेछ । करिब ७४ किलोमिटर सडक स्तरोन्नति हुनेछ भने ११.७ किलोमिटर नयाँ सडक (बाइपास) निर्माण गरिनेछ ।
कास्कीको छोरेपाटनदेखि स्याङ्जाको फेदीखोला, भालुपहाडदेखि वालिङको बाडखोला, राङ्खोलादेखि हेलु र कालीगण्डकीको राम्दीदेखि पाल्पाको पिपलडाँडासम्म सुरुङ निर्माण गर्ने योजना प्रस्तावमा छ ।
त्यस्तै, बहाकी खोलादेखि तानसेन प्रभाससम्म तीनवटा सुरुङ र पाल्पाको केराबारीमा १ हजार २७ मिटर लामो ‘डबल लेन’ पुल बनाइने छ । हाल निर्माणको अन्तिम चरणमा रहेको सिद्धबाबा सुरुङमार्ग भने यो नयाँ प्याकेजमा समावेश छैन । यो आयोजनाले लुम्बिनी र गण्डकी प्रदेशको विकासमा कायापलट गर्ने छ । राजमार्ग स्तरोन्नति भएपछि लुम्बिनी र पोखराबीचको पर्यटकीय ‘कनेक्टिभिटी’ बलियो हुने अपेक्षा गरिएको छ । लुम्बिनी आएका पर्यटकलाई छोटो समयमै पोखराको चिसो हावापानीमा रम्न जान सहज हुनेछ ।
सडक विस्तारका क्रममा पाल्पाको दोभानदेखि स्याङ्जासम्म करिब १ हजार घरटहरा हटाउनुपर्ने छ । स्याङ्जाको सदरमुकाम पुतलीबजारमा भने घर नभत्काई ‘बाइपास’ सडक बनाउने प्रस्ताव डीपीआरमा गरिएको छ । परियोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडक सबै मौसममा सुचारु रहने डबल बिटुमिन्स सर्फेस ट्रिटमेन्ट मापदण्ड अनुसार स्तरोन्नति र पुलहरूको मर्मत सम्भार गर्ने योजना रहेको अध्ययनमा संलग्न स्कुल अफ एजुकेसन साइन्स एन्ड म्यानेजमेन्टले जनाएको छ । त्यसैका लागि सम्बन्धित पालिकाका जनप्रतिनिधिसँग भेटघाट र स्थलगत अवलोकन भइरहेको टोलीका प्रतिनिधि डा.तेज बहादुर कार्कीले जानकारी दिए ।












