हारमा पनि जीतको अनुभूति : इङ्ग्ल्यान्डविरुद्ध नेपालको ऐतिहासिक शक्ति प्रदर्शन
  • प्रमुख खबर

MUMBAI, INDIA - FEBRUARY 08: Nepal players acknowledge the crowd following the ICC Men's T20 World Cup India & Sri Lanka 2026 match between England and Nepal at Wankhede Stadium on February 08, 2026 in Mumbai, India. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

माघ २५, काठमाडौं ।।
आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल इंग्ल्याण्डसँग
४ रनले पराजीत भएको छ ।

नेपालले आफ्नो पहिलो खेलमै विश्व क्रिकेटको शक्तिशाली टोली इङ्ग्ल्यान्डलाई कडा चुनौती दिँदै रोमाञ्चक प्रदर्शन गरे पनि अन्तिम घडीमा ४ रनले पराजय भएको हो ।

तर यो हार केवल अंकको हार मात्रै हो, प्रदर्शन र मनोबलको हिसाबले भने नेपालले आज ठूलो जित हासिल गरेको सन्देश दिएको छ। इङ्ग्ल्यान्ड जस्तो बलियो टोलीलाई अन्तिम बलसम्म दबाबमा राख्नु नै नेपाली क्रिकेटको ऐतिहासिक लडाइँको प्रमाण बनेको छ।

भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा भएको खेलमा नेपालले १ सय ८५ रनको लक्ष्य पछ्याउँदै सानदार ब्याटिङ गरे पनि २० ओभरमा ६ विकेट गुमाएर १ सय ८१ रनमै रोकियो।

नेपालका मध्यक्रमका भरोसायोग्य ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आक्रामक ४४ रन बनाएर टोलीलाई जित नजिक पुर्‍याए।

कप्तान रोहितकुमार पौडेल र लोकेश बमले समान ३९–३९ रनको योगदान दिए। अन्तिम ओभरसम्म खेल जीवित राखे पनि इङ्ग्ल्यान्डका बलरहरूले दबाब सिर्जना गर्दै जित हात पारे ।

आजको खेलमा नेपाल पराजय भएपनि विश्व क्रिकेटको बलियो टोलीविरुद्ध देखाएको साहस, संघर्ष र आत्मविश्वासले विश्वमञ्चमा टोलीले समर्थकहरूको मन जितेको छ।

अन्तिम ओभरसम्म पुगेको आजको खेलले नेपाल केबल एउटा प्रतिस्पर्धी मात्रै मात्र नभई जित निकाल्न सक्ने टोली बनिसकेको स्पष्ट संकेत दिएको छ ।

इङ्ग्ल्यान्डका लायम ड्वासनले महत्वपूर्ण दुई विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो।
ज्याकब बेथेलले ५५ रन र कप्तान ह्यारी ब्रूकले ५३ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे।

नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिएर इङ्ग्ल्यान्डलाई ठूलो स्कोर बनाउन दिएनन्। यस प्रतियोगितामा २० टोली सहभागी छन्।

समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । यस टि-२० विश्व कपमा इटालीले पहिलो पटक आफ्नो खेल प्रदर्शन गर्दैछन् ।

हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन्। त्यसपछि सेमिफाइनल हुँदै मार्च ८ मा फाइनल खेल हुनेछ।

यसअघि आजै अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्डले विजयी सुरुआत गरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्