फागुन ५, पोखरा ।।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय विमानस्थल भनिएपनि यहाँबाट अन्तर्राष्ट्रिय उडान हुन् नसक्दा पछिल्लो समय सार्वजनिक रूपमा ‘सेतो हात्ती’ र ‘भूत एयरपोर्ट’ जस्ता कटु तर यथार्थपरक प्रतीकात्मक शब्दले चिनिन थालेको छ।
अर्बौं रुपैयाँको लगानीमा निर्माण गरिएको यो राष्ट्रिय गौरवको आयोजना अपेक्षित अन्तर्राष्ट्रिय उडान र यात्रु चाप अभावमा सुनसानजस्तै बनेपछि यसको उपयोगिता र औचित्यमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।
भौतिक संरचना भव्य भए पनि आकाशमा जहाजको चहलपहल नदेखिँदा यो विमानस्थल विकासको प्रतीकभन्दा बढी राज्यको असफल योजना, कमजोर कूटनीतिक पहल र अदूरदर्शी निर्णयको उदाहरणका रूपमा आलोचित हुँदै आएको छ।
“पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः वर्तमान अवस्था र भविष्यको मार्गचित्र” विषयमा आयोजित ‘सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी’ (सेसिफ)ले मंगलबार(आज) पोखरामा आयोजना गरेको कार्यक्रममा विमानस्थल निर्माणका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट २१५.९४ मिलियन अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) ऋण लिइएको जनाएको छ।
तर यही विमानस्थलको हालको आम्दानीको दर कायम रहे ऋण र ब्याज तिर्न झन्डै २ सय ६ वर्ष लाग्ने आँकडा सहितको तथ्यांक प्रस्तुत गरिएको छ ।
यस कार्यक्रममा सेसिफका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले पोखरा अन्तराष्ट्रिय विमानस्थल गम्भीर संरचनात्मक र वित्तीय चुनौतीको अवस्थामा रहेको टिप्पणी गर्दै यसलाई वास्तविक अर्थमा अन्तर्राष्ट्रिय हबका रूपमा स्थापित गर्न तत्काल कूटनीतिक पहल, उडान सम्झौता विस्तार र बजार प्रवर्द्धनमा आक्रामक रणनीति आवश्यक रहेको जानकारी दिएका थिए।
उनले समयमै ठोस कदम नचालिए विमानस्थल ‘सेतो हात्ती’ को संज्ञाबाट मुक्त हुन कठिन हुने चेतावनी दिए। यही विषयलाई लिएर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विमानस्थलका सम्बन्धमा सार्वजनिक रूपमा प्रयोग गरिएका ‘सेतो हात्ती’ र ‘भूत एयरपोर्ट’ जस्ता शब्दावली अस्वाभाविक, अनुपयुक्त र गैरजिम्मेवारपूर्ण भएको बताए।
उनले यस्ता अभिव्यक्तिले पोखराको पहिचान, गौरव र नागरिकहरूको योगदानमाथि प्रत्यक्ष आघात पुर्याउने पनि बताए ।विमानस्थललाई नकारात्मक रूपमा चित्रण गर्दै यस्ता शब्दहरू प्रयोग गरिएपछि मेयर आचार्यले गम्भीर आपत्ति जनाउँदै यसप्रति सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार राष्ट्रिय गौरवको परियोजनाका रूपमा निर्माण गरिएको विमानस्थललाई गलत सन्देश प्रवाह हुने गरी प्रस्तुत गर्नुले अन्तर्राष्ट्रिय समुदायमा समेत पर्यटकीय राजधानी पोखराको छविमा नकारात्मक असर पार्न सक्छ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरेली नागरिकहरूको दीर्घकालीन सपना, योगदान र समर्पणको परिणाम भएको उल्लेख गर्दै यसलाई अवमूल्यन गर्ने अभिव्यक्तिहरूले नागरिकहरूको भावना र अपेक्षित विकासमाथि अपमान र उपहास गरेको बताए।
“यो विमानस्थल पोखराको आर्थिक, पर्यटन र समग्र विकासको महत्वपूर्ण आधार हो। यसलाई ‘सेतो हात्ती’ वा ‘भूत एयरपोर्ट’ भनेर सम्बोधन गर्नु केवल परियोजनाको होइन, यसका लागि योगदान गर्ने सम्पूर्ण पोखरेली जनताको सम्मानमाथि प्रहार हो,” उनले भने।
उनले विमानस्थल निर्माणसँग सम्बन्धित आर्थिक अनियमितताबारे उठेका प्रश्नहरू राज्यका सम्बन्धित निकायहरूको क्षेत्राधिकारभित्र पर्ने विषय भएको पनि स्पष्ट पारे। यदि कुनै अनियमितता भएको भए त्यसको छानबिन र न्यायिक निरूपण कानुनी प्रक्रिया अनुसार हुनुपर्नेमा जोड दिँदै मेयर आचार्यले सार्वजनिक रूपमा पूर्वाग्रही र नकारात्मक भाष्य सिर्जना गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केवल पूर्वाधारको संरचना मात्र नभई पोखराको भविष्यसँग जोडिएको दीर्घकालीन विकासको आधार भएको पनि उल्लेख गरे ।
यस विमानस्थलले पर्यटन प्रवर्द्धन, लगानी आकर्षण, रोजगारी सिर्जना तथा समग्र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले सबै सरोकारवालालाई जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति दिन आग्रह गरे।
उनले विमानस्थलको प्रभावकारी सञ्चालन, अन्तर्राष्ट्रिय उडान विस्तार र यसको पूर्ण उपयोगका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको पनि औंल्याए। यसका साथै विमानस्थललाई सकारात्मक ढंगले प्रवर्द्धन गर्दै यसको क्षमताको अधिकतम उपयोग सुनिश्चित गर्नु नै अहिलेको प्राथमिकता हुनुपर्ने उनको भनाइ छ।
उनले यस विमानस्थललाई नकारात्मक रूपमा चित्रण गर्ने अभिव्यक्तिहरूले विकासप्रतिको विश्वास कमजोर पार्ने भएकाले यस्ता विषयमा जिम्मेवार, तथ्यपरक र राष्ट्रहितलाई केन्द्रमा राखेर धारणा व्यक्त गर्न सबैलाई आग्रह पनि गरे।
यो विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यसको औपचारिक उद्घाटन सन् २०२३ जनवरी १ (वि.सं. २०७९ पुस १७) मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच उद्घाटन गरिएको थियो।
त्यस समय यस विमानस्थललाई नेपालको पर्यटन र आर्थिक विकासको ‘गेम-चेन्जर’ परियोजनाका रूपमा प्रस्तुत गरिएको थियो। तर उद्घाटन भएको तीन वर्ष नजिकिँदा पनि अपेक्षित अन्तर्राष्ट्रिय उडान नहुँदा यसको उपयोगिता र रणनीतिक योजना नै प्रश्नको घेरामा परेको छ।
विषेशगरी यहाँबाट नियमित रूपमा अन्तराष्ट्रिय उडान हुन नसक्नुको प्रमुख कारणहरु विमानस्थलले पूर्ण अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक आईसिएओ स्तरको प्रमाण र क्याटगोरि- सि सटिफिकेशन प्राप्त गर्न नसक्नु पनि रहेको छ। जसकारण विदेशी एयरलाइन्सले सुरक्षा जोखिमको आशंका व्यक्त गर्दै आएका छन्।
यससँगै यो अन्तराष्ट्रिय विमानस्थलको डिजाइन नै अलि संकास्पद भएको भन्दै यसको सञ्चालनको लागि भारतले अनुमति नदिँदा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन कठिन भएको छ।यो नै सबैभन्दा महत्वपूर्ण कूटनीतिक कारण मानिएको छ ।












