फागुन २१, पोखरा ।।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कास्की जिल्लामा बिहीबार(आज)दिउँसो १ बजेर १५ मिनेटसम्म कुल ३६.७४ प्रतिशत मत खसेको छ।
मतदाताको उत्साहजनक सहभागिताबीच हालसम्म १ लाख १३ हजार ३ सय ८० मत खसेको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले जनाएको छ ।
कार्यालयले दिएको तथ्यांकअनुसार महिला मतदाताको सहभागिता सबैभन्दा बढी देखिएको छ। हालसम्म ५८ हजार १ सय ५३ महिला मतदाताले मतदान गरेका छन् भने ५५ हजार २ सय २६ पुरुष मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
त्यसैगरी ‘अन्य’ समूहका १ जना मतदाताले पनि मतदान गरेका छन्। बिहान ठीक ७ बजेदेखि सुरु भएको मतदानमा बिहानैदेखि मतदाताहरु आ- आफ्नो मतदान केन्द्रमा पुगेर लामबद्ध हुँदै मताधिकार प्रयोग गरिरहेका छन्।
निर्वाचनको समयावधि साँझ ५ बजेसम्म रहेको छ । यसपटकको निर्वाचनमा कास्कीको तीन वटै निर्वाचन क्षेत्रमा विशेषगरी महिला, युवा तथा ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिताले मतदान केन्द्रहरूमा उत्साहपूर्ण वातावरण देखिएको छ।
निर्वाचनलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण बनाउन सुरक्षा निकाय र निर्वाचन कर्मचारीहरू सक्रिय रूपमा परिचालन गरिएको छ। अधिकांश मतदान केन्द्रहरूमा मतदान प्रक्रिया सहज र व्यवस्थित रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।












