स्याङ्जामा मतपत्र विवादले रोकिएको मतदान नयाँ मतपेटिका राखी पुनः सञ्चालन
  • प्रमुख खबर

Oplus_131072

फागुन २१, स्याङ्जा ।।
स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा मतदानका क्रममा विवाद उत्पन्न भएसँगै केही समय अवरुद्ध भएको मतदान पुनः सुरु गरिएको छ।

मतदानका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान केन्द्रमा विवाद उत्पन्न भएको थियो। उक्त विवाद बढेपछि केहीबेरका लागि मतदान प्रक्रिया रोक्नुपरेको थियो।

स्याङ्जाका निर्वाचन अधिकृत ऋषि पौडेलका अनुसार विवाद देखिएपछि त्यसबेलासम्म प्रयोगमा रहेका दुवै मतपेटिकालाई सिलबन्दी गरेर छुट्टै गणना गर्ने सहमति गरिएको छ। सो सहमतिपछि मतदान प्रक्रिया पुनः सञ्चालन गरिएको उनले जानकारी दिए ।

उक्त घटनाबारे निर्वाचन आयोगलाई जानकारी दिइसकेको र त्यहाँबाट निर्देशन भए बमोजिम प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका लागि नयाँ मतपेटिका राखेर मतदान अघि बढाइएको उनले बताए।

झन्डै दुई घण्टा अवरुद्ध भएको मतदान अहिले भने सहज रूपमा सञ्चालन भइरहेको छ। केन्द्रमा रहेका ७ सय १ मतदातामध्ये मतदान गर्न आउने मतदाताको लाइन पनि पुनः देखिन थालेको छ।

स्थानीय प्रशासनका अनुसार विवाद समाधान भएपछि मतदान केन्द्रको वातावरण सामान्य बन्दै गएको छ र बाँकी मतदाताले निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्