कास्की कारागारमा स्थापना गरिएको मतदान केन्द्रमा शतप्रतिशत मतदान
  • सरिता गुरुङ

फागुन २१, पोखरा ।।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कास्की कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा यसपटक शतप्रतिशत मतदान भएको छ।

मतदाता नामावलीमा सूचीकृत सबै कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेपछि कारागारभित्रको मतदान प्रक्रिया पूर्ण रूपमा सम्पन्न भएको हो।

मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान करिब साढे दुई घण्टामै सकिएको थियो।

कारागारका लागि तयार पारिएको मतदाता नामावलीमा ३८ जना कैदीबन्दीको नाम समावेश भए पनि एक जना धरौटीमा छुटेकाले ३७ जनाले मात्र मतदान गरेका हुन्। तीमध्ये दुई जना महिला कैदीबन्दी रहेका छन्।

कैदीबन्दीहरूसँगै तीन जना कर्मचारीले पनि सोही केन्द्रबाट मतदान गरेपछि कारागारस्थित अस्थायी मतदान केन्द्रमा कुल ४० मत खसेको श्रेष्ठले जानकारी दिए।

कास्की कारागारमा हाल ६ सय ९७ जना कैदीबन्दी रहे पनि निर्वाचन आयोगबाट प्रमाणित भई मतदाता नामावलीमा समावेश भएका व्यक्तिहरूले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ।

प्रदेश निर्वाचन कार्यालयमा विवरण दर्ता गराई आधिकारिक सूचीमा नाम समावेश भएका कैदीबन्दीले मात्रै मत हाल्न पाएका हुन्।

यस्तै निर्वाचनमा खटिएका कर्मचारीहरूका लागि भने जिल्ला समन्वय समिति कास्कीको परिसरमा छुट्टै अस्थायी मतदान केन्द्र सञ्चालन गरिएको छ।

उक्त केन्द्रमार्फत कर्मचारीहरूले समानुपातिकतर्फको मत मात्र हालिरहेका छन्। निर्वाचन अधिकृत सरस्वती गिरीका अनुसार कास्कीका करिब ७० प्रतिशत कर्मचारी निर्वाचनमा खटिएका छन् भने सो केन्द्रबाट करिब २ हजार ५ सय कर्मचारीले मतदान गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जिल्लाभर निर्वाचन प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र सौहार्दपूर्ण रूपमा अघि बढिरहेको बताएका छन्।

प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले पनि प्रदेशभर मतदान वातावरण उत्साहपूर्ण र मर्यादित रहेको बताएका छन्।

विषेशगरी कास्की जिल्लाभर दुई अस्थायी मतदान केन्द्रसहित ३ सय ६५ मतदान केन्द्र र १ सय ५३ मतदान स्थल सञ्चालनमा छन्।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ भने मतदान सम्पन्न भएलगत्तै आजैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्