फागुन २८, एजेन्सी ।।
युइएफए च्याम्पियन्स लिगको नकआउट चरणका पहिलो लिगका खेल सम्पन्न भएका छन् । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड, पीएसजी र बोडो विजयी भएका छन् भने आर्सनल बराबरीमा रोकिएको छ ।
राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियल म्याड्रिडको जितमा फेडेरिको भलभेर्ड़ेले ह्याट्रिक गरेका थिए ।
उनले खेलको २०औं, २७औं र ४२औं मिनेटमा गोल गर्दै आफ्नो क्लवलाई यस प्रतियोगिताको बाँकी खेलका लागि सुरक्षित रूपमा अवतरण गराउन सफल भएका हुन् ।
त्यस्तै पीएसजीले चेल्सीलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । पीएसजीको जितमा ख्विचा क्वारत्स्खेलियाले दुई गोल गरेका थिए भने भिटिन्हा, ओसमान डेम्बेले र ब्राडली बार्कोलाले १-१ गोल गरेका थिए ।
यस्तै चेल्सीका लागि मालो गुस्टो र इन्जो फर्नानडेजले एक एक गोल गरेका थिए । त्यसैगरी नर्वेको क्लब बोडोले पोर्चुगीच क्लब स्पोर्टिंगलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
यता आर्सनल भने जर्मनी क्लब बायर लिभरकुसेनसँग १-१ गोलको बराबरीमा रोकिएको छ । अब राउण्ड १६ को दोस्रो लिगक खेल मार्च १७ मा खेल्ने तालिका रहेको छ ।













