चैत ११, काठमाडौं ।।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका केही ठाँउ तथा बागमती र लुम्बिनी प्रदेशको एक/दुई ठाँउमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तराई भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको मौसमविद्ले बताएका छन् ।
आज काठमाण्डौमा मौसम आंशिक बदलीको सम्भावना छ । तर पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने पूर्वानुमान छ ।












