इतिहासकै कान्छो प्रधानमन्त्री: ३५ वर्षको उमेरमा ४५औँ प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै बालेन
  • प्रमुख खबर

Oplus_131072

चैत्र १३, काठमाडौं ।।
देशले शुक्रबार(आज) ४५ औं प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह(बालेन)लाई पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहले आज प्रधानमन्त्रीको शपथ ग्रहण गरेसँगै नेपालको राजनीतिक इतिहासमा उनी ४५औं प्रधानमन्त्री बन्ने भएका हुन् ।

यससँगै ३५ वर्षको उमेरमा यो पद सम्हाल्दै उनी इतिहासकै कान्छो प्रधानमन्त्रीका रूपमा रहने र मधेश प्रदेशको पृष्ठभूमिबाट देशको मूल नेतृत्व गर्ने उनी पहिलो व्यक्ति पनि हुने भएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो १२:३४ मा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ ।

यस्तै शाहको शपथ ग्रहण समारोहलाई नेपालको मौलिक संस्कृति र परम्परा झल्किने गरी विशेष बनाइँदैछ । जसअन्तर्गत ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ ।

शपथ लगत्तै बालेनले दिउँसो २:१५ मा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पद बहाली गर्नेछन्। सोही अवसरमा उनले आफ्नो अनुमानित १५ देखि १८ सदस्यको सानो आकारको मन्त्रिमण्डललाई पनि शपथ गराउने तयारी रहेको स्रोतले जनाएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिटका साथ ऐतिहासिक बहुमत प्राप्त गरेको थियो। संविधानको धारा ७६ को उपधारा (१) बमोजिम एकल बहुमतको सरकार गठन गर्ने उनी पहिलो गैर-परम्परागत दलका नेता हुन्।

उनले झापा ५ जस्तो हेभीवेट क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरी ६८ हजार ३ सय ४८ मतका साथ विजयी भई आफ्नो शक्ति प्रदर्शन गरेका थिए।

विषेशगरी आजको दिनलाई लिएर नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ। काठमाडौंको पूर्व मेयरका रूपमा स्थापित भएका उनले आजबाट देशको सर्वोच्च कार्यकारी पदको जिम्मेवारी समेत सम्हाल्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्