आज देशभर रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै
  • प्रमुख खबर

Oplus_131072

चैत्र १३, काठमाडौं ।।
शुक्रबार(आज) चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा देशैभर ‘रामनवमी’ पर्व श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

त्रेता युगमा ‘रामराज्य’ को जग बसाल्ने भगवान् श्री रामचन्द्रको जन्म भएको पावन दिनको अवसरमा परापूर्व कालदेखि नै यो पर्व मनाइँदै आएको छ । यसै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्याको सुपुत्रका रूपमा विष्णुको सातौँ अवतारका रूपमा रामको जन्म भएको थियो ।

यस्तै यस अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार रामनवमी केवल पूजाआजामा मात्र सीमित नभई एक आदर्श जीवनपद्धतिको स्मरण पनि हो।

यस अवसरमा विशेष गरी माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यामा विशेष मेला र ‘रामलीला’ प्रदर्शन गरिँदैछ ।

धनुषाको प्रसिद्ध जानकी मन्दिरमा नेपाल र भारतका हजारौँ श्रद्धालुहरूको घुइँचो लागेको छ। भक्तजनहरू आज पवित्र नदी, ताल र कुण्डहरूमा स्नान गरी व्रत बस्ने गर्दछन्।

विषेशगरी आजका दिन श्री रामको पूजा, जप र ध्यान गर्नाले मनले चिताएको पुग्ने र ‘श्री’ (ऐश्वर्य) प्राप्त हुने शास्त्रीय मान्यता छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्