चैत्र १७, काठमाडौं ।।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा काठमाडौंका पूर्व जिल्ला प्रशासन कार्यालयका प्रमुख छवि रिजाल पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार(आज) पक्राउ गरेको हो । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक निकट रहेका उनी जेनजी आन्दोलनमा दमन गरेपछि काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बहिर्गमन भएका थिए ।
जेनजी आन्दोलनमा घटेको घटनालाई लिएर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा उनलाई पनि पक्राउ गरेको हो।
यस्तै तत्कालीन गृहमन्त्री लेखकको समयमा प्रशासन महाशाखा प्रमुख समेत रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा पेशागत आचरण विपरित काम गरेको आरोप पनि छ । उक्त भ्रष्टाचारको आरोपमा रिजालमाथि अनुसन्धान समेत भइरहेको छ ।
कार्की आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन् ।












