चैत्र १७, काठमाडौं ।।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम सिन्डिकेट अब अन्त्य हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम भएको सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको हो ।
सरकारको यस निर्णयसँगै श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् ।
मन्त्रालयद्वरा मंगलबार(आज) जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैदेशिक रोजगारी ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार श्रमिकले विदेश जानुअघि स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधान छ। तर व्यवहारमा सीमित संस्थामार्फत मात्रै सेवा दिएपछि सिन्डिकेटको आरोप लाग्दै आएको थियो ।
यही अवस्थालाई अन्त्य गर्दै मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि थप सरकारी तथा स्वीकृत अस्पताललाई अनुमति दिने प्रक्रिया अघि बढाएको जनाएको छ।
मन्त्रालयको उक्त निर्णय अनुसार अब इच्छुक स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा गरी सूचीकृत हुन सक्नेछन् ।
सो विज्ञप्तिमार्फत मन्त्रालयले स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधिअनुसार नयाँ स्वास्थ्य संस्थालाई पनि प्रक्रिया पूरा गरेर सूचीकृत गरिने जनाएको छ ।
यसअघि मलेसिया, खाडी मुलुक लगायतका देशका लागि सीमित स्वास्थ्य संस्थामार्फत मात्रै परीक्षण हुँदै आएको थियो। सो व्यवस्थालाई लिएर श्रमिकबाट उच्च शुल्क असुलिएको र विकल्प नदिइएको गुनासो समेत व्यापक हुने गरेको थियो ।
विषेशगरी वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ परीक्षणका लागि यसअघि ६ हजार ६ सय रूपैयाँ शुल्क लिएर निश्चित नीजि स्वास्थ संस्थाले परीक्षण गराउँदै आएका थिए । तर सरकारको यस निर्णयसँगै अब वैदेशिक रोजगारीमा जाने श्रमिकले सहज, सुलभ र प्रतिस्पर्धात्मक दरमा स्वास्थ्य परीक्षण सेवा पाउने विश्वास गरिएको छ ।













